प्रतिनिधिसभा निर्वाचन लक्षित मतदाता शिक्षा अभियान आजदेखि देशभर सुरु
  • प्रमुख खबर

फागुन ३, काठमाडौं ।।
निर्वाचन आयोगले आइतबार(आज) देखि मतदाता शिक्षा विशेष कार्यक्रम शुरू गरेको छ। आयोगले निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ अनुसार यस कार्यक्रम कार्यान्वयनमा ल्याएको जनाएको छ।

विषेशगरी आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप व्यवस्थित, सहभागितामूलक र प्रभावकारी बनाउन आयोगले उक्त कार्यक्रम शुरू गरेको हो ।

आजदेखि शुरु भएको यो अभियान फागुन १७ गतेसम्म निरन्तर सञ्चालन हुनेछ। देशका ७ सय ५३ वटै स्थानीय तहअन्तर्गतका ६ हजार ७ सय ४३ वडामा एक–एक जना स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुनेछ।

यस कार्यक्रमअन्तर्गत खटिएका मतदाता शिक्षा स्वयंसेवकले सीधै मतदाताको घरदैलोमा पुगेर मतदान प्रक्रियाबारे जानकारी दिनेछन्।

नमूना मतपत्रको प्रयोगमार्फत मत कसरी हाल्ने, मताधिकारको महत्व के हो र सही तरिकाले मतदान कसरी गर्ने भन्ने विषयमा व्यवहारिक रूपमा प्रशिक्षण दिइनेछ।

निर्वाचन आयोगले मतदाता शिक्षालाई केवल जानकारी दिने कार्यक्रम मात्र नभई लोकतन्त्र सुदृढ गर्ने आधारका रूपमा लिएको छ।

आयोगको अनुसार यस मतदाता शिक्षाले प्रभावकारी मतदानमा जनसहभागिता बढाउने मात्र नभई बदर मतको दर समेत उल्लेखनीय रूपमा घटाउन मद्दत गर्ने विश्वास लिइएको छ।

त्यस्तै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कार्यक्रम सफल बनाउन प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र सरोकारवाला निकायसँग सक्रिय सहयोग र समन्वयको आग्रह गरेका छन् ।

उनले मतदाता शिक्षा लोकतान्त्रिक प्रक्रियाको मेरुदण्ड भएकाले यसको प्रभावकारी कार्यान्वयन अत्यन्त आवश्यक रहेको उल्लेख गरे।

 

तपाईको प्रतिक्रिया दिनुहोस्