फागुन ३, पोखरा ।।
जिल्ला प्रहरी कार्यालय कास्कीले माघ महिनाको प्रगति विवरण सार्वजनिक गर्दै अपराध नियन्त्रण, अनुसन्धान र समुदाय–केन्द्रित कार्यक्रमहरूमा उल्लेखनीय सक्रियता देखाएको जनाएको छ।
सार्वजनिक विवरणअनुसार माघ महिनामा मात्रै १ सय ७४ वटा मुद्दा दर्ता भएका छन् भने १ सय २ जना चालु मुद्दाका प्रतिवादी पक्राउ परेका छन्।
दर्ता भएका मुद्दामध्ये ८ वटा जघन्य तथा गम्भीर अपराध, ४ वटा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित, ८६ वटा आर्थिक अपराध र ७६ वटा अन्य अपराध रहेका छन्।
फैसला कार्यान्वयनतर्फ २४ जना फरार प्रतिवादी पक्राउ परेका छन् । यसबाट १९ वर्ष १३ दिन कैद कार्यान्वयन र रु. २६ लाख ६९ हजार ९४ असुल भएको छ।
सामाजिक हिंसा र घरेलु हिंसा
कास्की प्रहरीका अनुसार जिल्लाभर महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ६४ वटा सामाजिक हिंसाका ठाडो उजुरी दर्ता भएका छन्। पीडितमध्ये २६ देखि ३५ वर्ष उमेर समूहका ३१ जना सबैभन्दा बढी छन्।
यस्तै घरेलु हिंसाका १८ घटनामध्ये १५ मिलापत्र गरिएका छन् भने ३ वटा घटना अदालत पठाइएका छन्। प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा धेरै घटना पोखरा महानगरपालिकाभित्र देखिएको छ।
६२ जना हराएको निवेदन, ४६ जना फेला
यस्तै माघमा २७ महिला, १४ पुरुष, २० बालबालिका, १ ज्येष्ठ नागरिक गरी ६२ जना हराएको निवेदन परेको थियो ।
यसमध्ये ४६ जना फेला पारिएको प्रहरीले जनाएको छ।
अघिल्लो महिनामा हराएका २० जनालाई समेत यस महिनामा फेला पारिएको प्रहरी विवरणले देखाएको छ।
लागूऔषध विरुद्ध अभियान अन्तर्गत
लागुऔषध नियन्त्रणतर्फ १२ जना पक्राउ परेका छन्। ७३/७३ एम्पुल ब्रुफिन र फेनारगन, ६४ एम्पुल डाइजापाम, ७० ट्याबलेट ट्यापेन्डाडोल तथा २४.१०० ग्राम ब्राउन सुगर बरामद गरिएको छ।
विशेष सूचनाका आधारमा पोखरा–११ बाट २४.१५ ग्राम ब्राउन सुगर, नगद रु. १ लाख ४२ हजार र डिजिटल तराजुसहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
आन्दोलनमा लुटिएको प्रहरी हतियार
जेन्जी आन्दोलनका क्रममा लुटिएको “राइफल ५.५६ एमएम एम३२२६” लेखिएको ईन्सास राइफलसहित प्रहरीले २ जनालाई पक्राउ गरेको विवरणमा उल्लेख गरिएको छ।
त्यस्तै फेवातालबाट एसएलआर राइफल १ थान र १८ राउण्ड गोली फेला परेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
यस्तै माघ महिनामा कास्की प्रहरीले कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएर फरार रहेका एक प्रतिवादीलाई लेकसाइड क्षेत्रबाट पक्राउ गर्न सफल भएको छ।
यससँगै विभिन्न कारागारबाट आन्दोलनका क्रममा फरार भएका १५ जना कैदीलाई पुनः पक्राउ गरी सम्बन्धित कारागारमा बुझाइएको छ।
आत्महत्या : ९ जनाको ज्यान गयो
माघ महिनामा आत्महत्याका ९ वटा घटना दर्ता भएका छन्। १८ देखि ४० वर्ष समूहका ३ जना, ४० देखि ६० वर्षका ३ र ६० वर्षमाथिका ३ जना रहेका छन्।
सवारी दुर्घटना : ६ को मृत्यु, १६ घाइते
माघ महिनामा मात्र १४ वटा सवारी दुर्घटनामा ६ जनाको मृत्यु र १६ जना घाइते भएका छन्। यससँगै ट्राफिक कारबाहीअन्तर्गत ३ हजार ७ सय ७२ सवारी साधन कारबाहीमा परेका छन् भने सो कारबाहीबाट नगद रु ३३ लाख ३ हजार ५ सय राजश्व संकलन भएको छ।
आगलागीमा १ जनाको मृत्यु
१२ वटा आगलागी घटनामा १ जनाको मृत्यु भएको छ भने करिब रु. ७ लाख २६ हजार बराबरको क्षति भएको अनुमान छ।
अवैध हतियार बरामदसहित हतियार संकलन
गएको महिना मात्र कास्की प्रहरीलाई अवैध २३ थान हतियार बरामद भएको छ । यस्तै आगामी निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न प्रहरीले निर्वाचन अवधिभर व्यक्तिहरूको नाममा रहेका १ सय १ वैध हतियार संकलन गरिएको समेत जनाएको छ।
नागरिक प्रत्यक्ष सचेतना कार्यक्रम
कास्की प्रहरीले गएको महिना सञ्चालन गरेको समुदाय केन्द्रित १ सय ३६ कार्यक्रममार्फत ५ हजार ७ सय ८५ जना लाभान्वित भएको प्रहरी विवरण उल्लेख गरिएको छ।
त्यस्तै विद्यालय केन्द्रित ३० कार्यक्रममार्फत १ हजार ९ सय ३० विद्यार्थी सहभागी भएका छन्। साइबर अपराध, लागूऔषध दुर्व्यसन, लैङ्गिक हिंसा, आत्महत्या रोकथामलगायत विषयमा प्रशिक्षण दिइएको छ।
सो महिना प्रहरी हटलाइन र सम्पर्क नम्बरमा ८ हजार २ सय २५ कल आएका छन् भने ९ हजार ८ सय १८ जनाले सेवा लिएका छन्। यसका साथै ५१ वटा नागरिकता तथा अन्य कागजातसम्बन्धी मुचुल्का तयार गरिएको छ।
प्रहरी मनोबल र नवप्रवर्तन
कास्की प्रहरीले गएको महिना अनुशासित भएर आफ्नो कार्यक्षेत्र राम्रोसँग गरेका २७ जना प्रहरी कर्मचारीलाई पुरस्कृत समेत गरेको छ।
प्रहरी प्रशासनले विषेशगरी प्रहरीहरूको मनोबल उच्च रूपमा बढाउन पुरस्कृत कार्यक्रम गरेको पनि जनाएको छ । योसँगै यस क्षेत्रमा ट्राफिक दुर्घटना न्यूनिकरणका लागि ४५ ट्राफिक कोण राखिएको छ।
जेनजी आन्दोलनमा क्षतिग्रस्त बगर प्रहरी कार्यालय पुनर्निर्माण गरी पूर्ण रूपमा सेवा सुचारु गरिएको पनि बताएको छ।
समग्रमा गएको माघ महिनामा कास्की प्रहरीले अपराध अनुसन्धान, नियन्त्रण, सचेतना र सेवा प्रवाहमा आक्रामक तथा परिणाममुखी सक्रियता देखाएको तथ्याङ्कले पुष्टि गरेको छ।












