दर्शन सहकारीको १५औं स्थापना दिवसमा निःशुल्क दन्त शिविर हुने
  • प्रमुख खबर

फागुन ४, पोखरा ।।
दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५औं स्थापना दिवस र प्रजातन्त्र दिवसको अवसर पारेर निःशुल्क दन्त शिविर गर्ने भएको छ ।

सहकारीले आगामी फागुन ७ गते बिहान ८ बजेदेखि कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ४, लाहाचोकमा निःशुल्क दन्त शिविर आयोजना गर्ने भएको हो ।

निट डेन्टल केयर, महेन्द्रपुलको प्राविधिक सहयोगमा उक्त शिविर हुने भएको हो । गाउँघरमै विशेषज्ञ सेवा र्पुयाउने उद्देश्यले आयोजना गरिएको यस शिविरमा दाँत तथा मुख सम्बन्धी विभिन्न समस्याहरूको निःशुल्क परीक्षण र परामर्श प्रदान गरिने सहकारीका अध्यक्ष राजाराम शाहीले जानकारी दिएका छन्।

उनका अनुसार सहकारीले केवल बचत तथा ऋणको कारोबार मात्र नगरी सामाजिक उत्तरदायित्व अन्तर्गत मानवीय सेवाका कार्यलाई पनि उत्तिकै प्राथमिकता दिँदै आएको छ ।

सहकारीले हरेक वर्ष आफ्नो वार्षिक क्यालेन्डरमै समावेश गरेर यस्ता स्वास्थ्य तथा सामाजिक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको उनले बताए ।

“मुखको स्वास्थ्य समग्र शरीरकै दर्पण हो, तर धेरै मानिसहरूले चेतना र पहुँचको अभावमा आफ्नो दाँतको समस्या लुकाएर राखेका हुन्छन्।

विशेषगरी ग्रामीण क्षेत्रका बासिन्दालाई लक्षित गर्दै हामीले यो शिविर आयोजना गरेका हौँ, जसले मुखका रोग न्यूनीकरण गर्न र स्थानीय समुदायमा स्वास्थ्यप्रति सचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ,” अध्यक्ष शाहीले भने ।

सहकारीले लाहाचोक र आसपासका क्षेत्रका सम्पूर्ण दाँत तथा मुख सम्बन्धी समस्या भएका महानुभावहरूलाई यस अवसरको लाभ उठाउन आग्रह समेत गरेको छ ।

शिविरमा विशेषज्ञ चिकित्सकहरूले दाँत परीक्षण गर्ने, सफा गर्ने विधि सिकाउने र आवश्यक औषधीहरू समेत परामर्शका आधारमा उपलब्ध गराउने बताइएको छ ।

विषेशगरी सामाजिक उत्तरदायित्वको क्षेत्रमा दर्शन सहकारीले गरेको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै आएको छ।

यसै प्रतिबद्धतालाई सार्थकता दिन सहकारीले विभिन्न समयमा शैक्षिक सामग्री वितरणदेखि लिएर स्वास्थ्य सम्बन्धी शिविरहरू सञ्चालन गर्नुका साथै जनचेतना अभिवृद्धि गर्ने जस्ता कार्यक्रमहरू सञ्चालन गरी पोखरा र वरिपरिका समुदायमा आफ्नो सामाजिक पहिचान दृढ गर्दै समेत आएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्