फागुन ७, पोखरा ।।
आगामी निर्वाचनलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गराउने उद्देश्यसहित कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मादी गाउँपालिकाका विभिन्न दुर्गम मतदानस्थलहरूको स्थलगत अनुगमन गरेको छन् ।

प्रमुख जिल्ला अधिकारी शर्मासहित सुरक्षा समितिका पदाधिकारीहरूको टोलीले मादी गाउँपालिकाअन्तर्गत पर्ने छाचोक, तप्राङ, खिलाङ, सिकलेस, सैमराङ र चितेपानी लगायतका मतदानस्थलहरूको निरीक्षण गर्दै त्यहाँको भौतिक अवस्था, सुरक्षा व्यवस्था र आवश्यक पूर्वाधारबारे विस्तृत जानकारी लिएको हो।
अनुगमनका क्रममा टोलीले स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, कर्मचारी तथा स्थानीय समुदायसँग प्रत्यक्ष छलफल गर्दै मतदानस्थलको वास्तविक अवस्थाबारे समेत बुझेका छन्।

विशेषगरी मतदान केन्द्रमा आवश्यक पर्ने आधारभूत पूर्वाधार जस्तै खानेपानी, बिजुली, शौचालय, मतदान कक्षको संरचना, कम्पाउण्ड वाल, तारवार, सिसिटिभी जडानको अवस्था तथा समग्र सुरक्षा व्यवस्थाको अवस्थाबारे सूक्ष्म रूपमा अवलोकन गरिएको थियो।
त्यसैगरी दुर्गम भूगोलका कारण मतपेटिका ढुवानी, सुरक्षाकर्मी परिचालन तथा निर्वाचन सामग्री ओसारपसारमा देखिन सक्ने चुनौतीबारे पनि विशेष ध्यान दिइएको थियो।
कतिपय स्थानमा सडक पहुँच कठिन रहेको, पूर्वाधार सीमित रहेको तथा थप व्यवस्थापन आवश्यक देखिएको भन्दै सम्बन्धित निकायलाई समयमै सुधार, मर्मतसम्भार र आवश्यक समन्वय गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी शर्माले बताएकी छन् ।
उनले निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएकाले मतदानस्थलहरूलाई सुरक्षित, पहुँचयोग्य र व्यवस्थित बनाउनु राज्यको प्राथमिक दायित्व भएको उल्लेख गर्दै सबै निकायबीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।
सुरक्षा समितिको टोलीले दुर्गम क्षेत्रमा रहेका मतदानस्थलमा पनि मतदाताले निर्भय र सहज वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।
यस अनुगमनले मादी गाउँपालिकाका दुर्गम बस्तीहरूमा रहेका मतदानस्थलको वास्तविक अवस्था उजागर गर्नुका साथै आगामी निर्वाचनलाई थप सुरक्षित, व्यवस्थित र विश्वसनीय बनाउने दिशामा महत्त्वपूर्ण आधार तयार भएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्।












