फागुन ७, काठमाडौं ।।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यही प्रभावका कारण तराईका केही ठाउँमा बिहीबार(आज) तुवाँलो लागेको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको छ । आज दिउँसो समेत तराई केही ठाउँमा हुस्सु लाग्नेछ ।
महाशाखाका अनुसार हिमाली भेगमा साधारणतया बादल लाग्ने, पहाडी भागमा आंशिक बादल र बाँकी भागमा मौसम सफा रहनेछ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका केही ठाउँमा तथा बाँकी पहाडी र हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
त्यस्तै आज राति भने तराईका केही ठाउँमा तुवाँलो रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भागमा बादल लाग्नेछ ।
मधेश प्रदेश तथा बाँकी पहाडी भागमा आंशिक बादल रहनेछ र बाँकी भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।












