फागुन १८, काठमाडौं ।।
मध्यपूर्वमा चर्किएको द्वन्द्वले भयावह रूप लिँदा संयुक्त अरब इमिरेट्स (यूएई)मा भएको आक्रमणमा एक नेपालीसहित तीन जनाको ज्यान गएको पुष्टि भएको छ।
यूएईको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार नेपाल, बङ्गलादेश र पाकिस्तानका एक–एक जना नागरिकको मृत्यु भएको हो।
आक्रमणमा परी ५८ जना घाइते भएका छन्। घाइते हुनेमा यूएई, इजिप्ट, फिलिपिन्स, भारत, पाकिस्तान र इरानका नागरिक रहेका छन्।
यूएईस्थित नेपाली दूतावासले घटनामा एक नेपाली नागरिकको ज्यान गएको प्रारम्भिक जानकारी प्राप्त भएको जनाएको छ। तर मृतकको पहिचान र विस्तृत विवरण आउन बाँकी रहेको दूतावासले स्पष्ट पारेको छ।
रक्षा मन्त्रालयका अनुसार इरानतर्फबाट १ सय ६५ वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको थियो। तीमध्ये १ सय ५२ वटालाई निस्तेज पारिएको र १३ वटा समुद्रमा खसेको जनाइएको छ।
त्यस्तै दुई वटा क्रुज मिसाइल र ५ सय ४१ वटा ड्रोन पनि प्रहार गरिएको थियो। अधिकांश ड्रोनलाई रोकिए पनि २१ वटा ड्रोन नागरिक आवासीय क्षेत्रमा खसेको पुष्टि गरिएको छ।
यस्तै मध्यपूर्वमा तीव्र रूपमा बढिरहेको तनावलाई दृष्टिगत गर्दै नेपाल सरकारले सम्बन्धित देशमा रहेका आफ्ना दूतावासहरूलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै निरन्तर अनुगमन र आवश्यक समन्वय गर्न निर्णय गरेको हो।
परराष्ट्रमन्त्री बालानन्द शर्माले खाडी क्षेत्रमा उत्पन्न तनावका कारण देखिएका हवाई उडानसम्बन्धी समस्या समाधान भइसकेको जानकारी दिएका छन्।
ट्रान्जिटमा अलपत्र परेका नेपाली कामदार तथा उपचारका लागि गएका बिरामीलाई सम्बन्धित दूतावाससँग समन्वय गरी गन्तव्यसम्म पुर्याउने व्यवस्था मिलाइएको उनले जानकारी दिए।
परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै कूटनीतिक तथा प्रशासनिक पहल अघि बढाइएको जनाएको छ।
मन्त्रालयअन्तर्गतको मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाले प्रभावित क्षेत्रका लागि ट्राभल एडभाइजरी जारी गरेको छ। साथै विभिन्न देशबाट जारी आधिकारिक वक्तव्य र समग्र सुरक्षा अवस्थाको निरन्तर निगरानी भइरहेको मन्त्रालयले जनाएको छ।
यस्तै मन्त्रालयको विवरणअनुसार मध्यपूर्वका देशमा हाल झन्डै १७ लाख २९ हजार २ सय ८८ नेपाली नागरिक कार्यरत वा बसोबास गर्दै आएका छन्।
भिसा र टिकट भइसकेर पनि उडान स्थगित हुनु, गन्तव्य देश पुगेपछि एयरपोर्टबाट बाहिर निस्कन कठिनाइ हुनु, ट्रान्जिटमा विशेषतः युरोप–अमेरिका जाने क्रममा यात्रु अलपत्र पर्नु तथा रोजगारदातासम्म पुग्न नसक्ने अवस्था जस्ता समस्या देखिएका छन्। यसका लागि सम्बन्धित निकाय र वैदेशिक रोजगार व्यवसायीमार्फत समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।
यससँगै बढ्दो असुरक्षालाई ध्यानमा राख्दै सरकारले खाडीसहित मध्यपूर्वका १२ देशका लागि तत्काल श्रम स्वीकृति अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ।
श्रम स्वीकृति रोकिएका देशहरूमा साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेवनान, टर्की र इजरायल रहेका छन्।
सरकारले परिस्थितिको निरन्तर मूल्याङ्कन गर्दै आवश्यक परे थप निर्णय लिन सक्ने संकेत दिएको छ। द्वन्द्व चर्किँदै जाँदा लाखौँ नेपालीको सुरक्षासम्बन्धी चिन्ता थप गहिरिँदै गएको छ।












