खाडी संकट गहिरिँदैः १७ लाखभन्दा बढी नेपाली जोखिम क्षेत्रमा
  • प्रमुख खबर

Oplus_131072

फागुन १८, काठमाडौं ।।
मध्यपूर्वमा चर्किएको द्वन्द्वबीच सरकारले त्यहाँ रहेका नेपाली नागरिकलाई नआत्तिन र सम्बन्धित देशका आधिकारिक सुरक्षा निर्देशन कडाइका साथ पालना गर्न आग्रह गरेको छ।

अमेरिका र इजरायलले इरानमा गरेको हमलापछि मध्यपूर्वमा तनाव बढेको हो । अमेरिकी सैन्य अखडाहरुमा इरानले गरेको हमलामा यूएईमा एक नेपालीको ज्यान गएको छ । यसले नेपालीहरुमा त्रास थप बढेको छ ।

परराष्ट्र मन्त्रालयले सकेसम्म घरभित्रै बस्न, सतर्क रहन र नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन आह्वान गरेको छ ।

मन्त्रालयले सम्बन्धित निकायको पूर्वस्वीकृतिबिना अनावश्यक यात्रा नगर्न र परराष्ट्र मन्त्रालय वा सम्बन्धित देशमा रहेका नेपाली दुतावासहरुमा नियमित सम्पर्कमा रहन भनेको छ ।

विभिन्न देशमा रहेका नेपाली दूतावासहरूले पनि स्थानीय कानून पालना गर्न र सुरक्षा निर्देशन मान्न आग्रह गरेका छन् ।

संयुक्त अरब इमिरेट्स (यूएई)मा करिब ७ लाख नेपाली रहेको परराष्ट्रको तथ्याङ्क छ । साउदी अरेबियामा ३ लाख ८४ हजार ८ सय ६५ तथा कतारमा ३ लाख ५७ हजार ९ सय १३ जना नेपाली कार्यरत छन् ।

कुवेतमा १ लाख ७५ हजार नेपाली रहेकामा ७५ प्रतिशत महिला घरेलु कामदारका रूपमा कार्यरत छन् । यस्तै जोर्डनमा रहेका ३ हजार नेपाली कामदार कार्यरत छन् ।

बहराइनमा २८ हजार तथा ओमानमा २५ हजार नेपाली कार्यरत रहेको सरकारी तथ्याङ्क छ । यससँगै लेबनानमा पनि १५ सय र इराकमा ३० हजार नेपाली छन् ।

साइप्रसको घरेलु कामदार र सेवा क्षेत्रमा १७ हजार नेपाली कार्यरत रहेको मन्त्रालयले जनाएको छ ।

इजिप्टमा मेडिकल अध्ययन र रोजगारीका लागि ५ सय विद्यार्थी छन् भने घरेलु कामदार र औद्योगिक मजदुरका रूपमा पनि केही कार्यरत छन् । सबै गरेर मध्यपूर्वका देशमा अहिले झन्डै १७ लाख २९ हजार २ सय ८८ नेपाली नागरिक रहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।

यस्तै १३ देशमा रहेका नेपालीहरूलाई मध्यपूर्वका १० नेपाली कूटनीतिक नियोगमा सम्पर्क गर्न भनिएको छ । मध्यपूर्वमा बढ्दै गएको तनावलाई मध्यनजर गर्दै सरकारले सम्बन्धित देशका नेपाली दूतावासहरूलाई उच्च सतर्कतामा रहन र नागरिकको अवस्था निरन्तर अनुगमन गर्न निर्देशन दिएको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । परराष्ट्र मन्त्रालयको मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका सहसचिव रामकाजी खड्काले प्रभावित क्षेत्रका लागि ट्राभल एडभाइजरी जारी गरिएको बताए। मन्त्रालयका अनुसार अहिले भिसा र टिकट भइसकेर पनि उडान रोकिने अवस्था, गन्तव्य देशमा पुगेर एयरपोर्टबाट बाहिर निस्कन कठिनाइ, ट्रान्जिटमा अलपत्र परेका यात्रु, विशेषतः युरोप–अमेरिका जाने क्रममा, गन्तव्य देश पुगे पनि रोजगारदातासम्म पुग्न नसकेका श्रमिक रहेका छन् ।

यसका लागि सम्बन्धित निकाय र वैदेशिक रोजगार व्यवसायीमार्फत समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि उत्पन्न परिस्थितीका कारण मध्यपूर्वका देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि नेपाल र खाडी देशहरुबीचको हवाई सेवा प्रभावित भएको छ ।

कतार, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनले आफ्नो हवाइक्षेत्र बन्द गरेका हुन् ।

हवाई क्षेत्र बन्दको प्रभावका कारण काठमाण्डौबाट खाडी तथा क्षेत्रीय गन्तव्यहरूमा सञ्चालन हुने उडानहरू प्रभावित भएका हुन् । यस्तै सरकारले खाडी सहित मध्यपूर्वका १२ वटा देशका लागि तत्काल श्रम स्वीकृति स्थगित गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्