फागुन २७, पोखरा ।।
जेनजी आन्दोलनका क्रममा दर्ता भएका मुद्दा फिर्ता लिन तथा पक्राउ परेका आन्दोलनकारीलाई निःशर्त रिहा गर्न माग गर्दै पीडित पक्षले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीलाई ज्ञापनपत्र बुझाएको छ।
आन्दोलनसँग सम्बन्धित पीडित तथा अभिभावकहरूको तर्फबाट बुधबार(आज) रास्वपा कास्कीका जिल्ला संयोजकमार्फत पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाउँदै आन्दोलनका क्रममा दर्ता गरिएका सबै राजनीतिक प्रकृतिका मुद्दा तत्काल फिर्ता लिन माग गरिएको हो।
यस्तै उक्त ज्ञापनपत्रमा प्रतिनिधिसभा निर्वाचन २०८२ मा रास्वपाले उल्लेखनीय जनमत प्राप्त गर्दै देशभर सफलता हासिल गरेकोप्रति बधाई तथा शुभकामना व्यक्त गरिएको छ। साथै कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा पार्टीले जित हासिल गरेको उल्लेख गर्दै यस जनादेशले देशमा राजनीतिक परिवर्तन, सुशासन र जनअपेक्षा सम्बोधन हुने आशा जगाएको उल्लेख गरिएको छ।
जेनजी आन्दोलन विशेषगरी युवाहरूको सक्रिय सहभागिताबाट अघि बढेको उल्लेख गर्दै उक्त आन्दोलनले तत्कालीन सरकारको विस्थापन र नयाँ राजनीतिक दिशातर्फ देशलाई अग्रसर गराउन महत्वपूर्ण भूमिका खेलेको दाबी गरिएको छ।
सोही आन्दोलनप्रति रास्वपाले पनि सहानुभूति तथा समर्थन जनाएको ज्ञापनपत्र मार्फत स्मरण गराइएको छ। तर आन्दोलनका क्रममा विभिन्न आन्दोलनकारीमाथि दायर गरिएका मुद्दा अझै कायम रहेको तथा केही आन्दोलनकारीहरू पूर्वपक्षका लागि थुनामा रहनु परेको अवस्था अन्यायपूर्ण भएको पीडित पक्षको भनाइ छ।
लोकतान्त्रिक आन्दोलनमा सहभागी नागरिकलाई कानुनी झमेलामा राखिनु न्यायोचित नभएको उनीहरूको तर्क छ।
यसै सन्दर्भमा पीडित पक्षले तीन बुँदे माग अघि सारेको छ। जसअनुसार जेनजी आन्दोलनका क्रममा दर्ता भएका सबै राजनीतिक प्रकृतिका मुद्दा तुरुन्त फिर्ता गर्न, पूर्वपक्षका लागि थुनामा रहेका आन्दोलनकारीलाई बिना शर्त तत्काल रिहा गर्न तथा आन्दोलनमा संलग्न नागरिकमाथि भविष्यमा कुनै राजनीतिक प्रतिशोध वा कानुनी दबाब नपर्ने सुनिश्चितता गर्न माग गरिएको छ।
देशमा आएको नयाँ जनादेशले लोकतन्त्र, नागरिक स्वतन्त्रता र न्यायको रक्षा हुने विश्वास व्यक्त गर्दै ज्ञापनपत्रमा रास्वपा तथा नयाँ सरकारले यस विषयमा सकारात्मक पहल गर्ने अपेक्षा गरिएको उल्लेख गरिएको छ।
उक्त ज्ञापनपत्रमा जेनजी आन्दोलनका क्रममा मुद्दा खेपेका पीडितहरूकोतर्फबाट राजन श्रेष्ठ तथा अभिभावकहरूको तर्फबाट विवेक तामाङले हस्ताक्षर गरेका छन् ।
ज्ञापनपत्रमा पीडित आन्दोलनकारीहरूको नामसमेत समावेश गरिएको छ। जसमा दिपु साई, नारायण साई, समर नाल्मी, रेजन रञ्जित, केशव बम्जन, खड्क बहादुर थापा, बुद्ध खवास, बिना मल्ल, रिदम कार्की, एलिशा गुरुङ्ग, रुपक नेपाली, महेन्द्र नेपाली, सागर रावत, अनिल पौडेल आदि रहेका छन् ।












