फागुन ३०, पोखरा ।।
पोखराका पूर्व मेयर तथा नेकपा एमालेका जिल्ला इन्चार्ज
कृष्णबहादुर थापाको शनिबार(आज) राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
बिहीबार मस्तिष्कघातका कारण ६६ वर्षको उमेरमा निधन भएका थापाको आज लामाचौरस्थित गोस्तेघाटमा अन्त्येष्टि गरिएको हो ।
एमाले कास्कीको पार्टी कार्यालयमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा बैठकमा उनले कास्कीमा एमालेले हारेको जिम्मेवारी लिँदै गर्दा अचानक उनलाई मस्तिष्कघात भएको थियो।

उपचारको लागि तत्काल मनिपाल शिक्षण अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। अन्त्येष्टि अघि उनको पार्थिव शरीरलाई आज बिहान अन्तिम श्रद्धाञ्जलीका लागि एमाले कास्कीको पार्टी कार्यालय, त्यसपछि पोखरा महानगरपालिका कार्यालय र अन्ततः पोखरा–१६ बाटुलेचौरस्थित निवासमा राखिएको थियो।
स्वर्गीय थापाको अन्तिम श्रद्धाञ्जली अर्पण कार्यक्रममा एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ, सचिव खगराज अधिकारी, सचिव पद्मा अर्याल लगायतका नेताहरूलको उपस्थिती रहेको थियो ।
वि.सं. २०१६ चैत १६ गते पोखरा–१६ बाटुलेचौरमा बुबा खिम बहादुर थापा र आमा सुकमाया गुरुङ थापाको सन्तानको रूपमा उनको जन्म भएको थियो । स्वर्गीय थापाको एक श्रीमती डिकी छिरिङ्ग थापा र एक छोरा प्रतिक थापा रहेका छन् ।
२०४१ भदौ २९ गते तत्कालीन नेकपा (माले)को पार्टी सदस्यता लिएका थापाको सक्रिय राजनीतिक यात्रा भने वि.सं.२०३५–०३६ सालको विद्यार्थी आन्दोलनबाट नै शुरू भएको थियो ।
यसरी विद्यार्थी आन्दोलनबाट प्रभावित भएर शुरू भएको उनको राजनीतिक यात्रा २०३७ सालमा पृथ्वीनारायण क्याम्पसको अनेरास्ववियु कमिटी सदस्य हुँदै अनेरास्ववियु कास्कीको जिल्ला कमिटी अध्यक्ष समेत बन्न सफल भएका थिए । यससँगै उनले आफ्नो राजनीतिक यात्रामा विभिन्न महत्वपूर्ण जिम्मेवारी पदमा रही कार्यसम्पादन समेत गरेका थिए ।

२०५१ सालमा उपत्यका नगर विकासको अध्यक्ष, २०५४ सालमा पोखरा उपमहानगरपालिकाको प्रमुख र २०७४ सालमा गण्डकी प्रदेश सभा सदस्यका रूपमा निर्वाचित भएर काम गरेका थिए।
उनी नेपाल नगरपालिका संघको केन्द्रीय सचिवालय सदस्यका रूपमा पनि लामो समय सक्रिय रहे। यस्तै २०४८ मा उनी जन सांस्कृतिक मञ्च पोखराको संस्थापक नगर अध्यक्षका रूपमा निर्वाचित भई काम समेत गरेका थिए ।
उनको राजनीतिक जीवन त्यति सहज भने थिएन । संघर्षपूर्ण राजनीतिक यात्राको क्रममा २०४३ मंसिरदेखि २०४६ पुससम्म तत्कालीन पञ्चायती शासनविरुद्धको आन्दोलनका क्रममा उनले पोखरा, दमौली र गोरखामा गरी करिब २९ महिना जेल जीवन बिताएका थिए।

मार्क्सवादी सिद्धान्तलाई आफ्नो विचारको आधार बनाएका थापा नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्यसहित राजनीतिमा सक्रिय रहेको राजनीतिज्ञहरुले बताउने गरेका छन् ।
कार्ल माक्र्स, मदन भण्डारी र अब्राहम लिंकनलाई आफ्नो आदर्श व्यक्तित्व मान्ने उनी राजनीतिक र सामाजिक क्षेत्रका अनुभवी नेताका रूपमा सुपरिचित थिए।
राजनीतिक जिम्मेवारीसँगै उनले आफ्नो अध्ययनलाई पनि अगाडि बढाएका थिए। उनले चिकित्साशास्त्र अध्ययन संस्थान सुर्खेतबाट सि.एम.ए. र पृथ्वीनारायण क्याम्पसबाट वि.एड अध्ययन गरेका थिए ।
यस्तै बंगलादेश, भारत, सिंगापुर, थाइल्याण्ड, मलेसिया, फिलिपिन्स, कम्बोडिया, भियतनाम, जापान, दक्षिण कोरिया, इरान, बहराइन, कतार, चीन, अमेरिका, बेलायत लगायत विभिन्न देशको भ्रमण गर्दै अन्तर्राष्ट्रिय अनुभव बटुलेका थापाको ‘स्वीकृति’ नामक कृति पनि प्रकाशित रहेको छ ।
त्यस्तै जीवनको अन्तिम घडीसम्म पनि राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय रहेका थापाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै पोखरा महानगरपालिकाले भोलि आइतबार शोक विदा दिने र तीन दिनसम्म महानगरका कार्यालयहरूमा राष्ट्रिय तथा महानगरको झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ।
विषेशगरी पोखराको आधुनिक विकास यात्रामा महत्वपूर्ण योगदान दिएका थापाको निधनसँगै पोखराले एक विकासप्रेमी नेतृत्व गुमाएको धेरैले बताएका छन्।










