फागुन ३०, पोखरा ।।
पछिल्लो समय बजारमा ग्यास अभावको गुनासो बढिरहेका बेला एक ग्यास डिलरले ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गरेको खुलासा भएको छ। पोखरा – ६ जरेवरस्थित भण्डारी ट्रेडर्सले खाना पकाउने एलपी ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना हो ।
जिल्ला प्रशासन कार्यालय कास्कीले शनिबार(आज) गरेको बजार अनुगमनका क्रममा उक्त ट्रेडर्सले उपभोक्ता हित विपरीतका कार्य गरेको फेला परेको हो ।
यसरी उपभोक्ता ठग्ने गतिविधिमा संलग्न पाइएपछि प्रशासनले उक्त ट्रेडर्सलाई कारबाही स्वरूप ५० हजार रुपैयाँ जरिवाना समेत गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल आयल निगम, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र उपभोक्ता मञ्चका प्रतिनिधि सम्मिलित संयुक्त अनुगमन टोलीले सो ट्रेडर्समा छापा मार्दा १४.२ केजीका ४८ थान ग्यास सिलिन्डर ग्यास लुकाईछिपाई राखिएको र एउटा सिलिन्डरबाट अर्कोमा ग्यास सारिरहेको अवस्थामा उपकरणसहित फेला पारेको हो ।
उक्त टोलीले कारबाहीमा परेका भण्डारी ट्रेडर्ससँगै पोखराका अन्य विभिन्न ५ वटा ग्यास डिलरमा समेत अनुगमन गरेको थियो।
अनुगमन पश्चात प्रशासनका सूचना अधिकारी शिव लम्सालका अनुसार उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम भण्डारी ट्रेडर्सलाई तत्कालै ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
प्रशासनले अनुगमनका क्रममा फेला परेका १४.२ केजीका ४८ थान र ७.१ केजीका ३८ थान ग्यास सिलिन्डर तुरुन्तै उपभोक्तालाई पहिले आउनेलाई पहिले दिने आधारमा बिना भेदभाव बिक्री वितरण गर्न निर्देशन दिएको छ।
यस्तै प्रशासनले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने र उपभोक्तालाई ठगी गर्ने गतिविधि सह्य नहुने चेतावनी दिँदै यस प्रकारको अनुगमनलाई आगामी दिनमा अझ कडा बनाइने जनाएको छ।













