पोखरा महानगरको स्वास्थ्य बिमाबाट हजारौँ गरिब परिवारलाई लाभान्वित हुने
  • प्रमुख खबर

चैत्र १३, पोखरा ।।
पोखरा महानगरपालिकाका अति तथा मध्यम गरिब घर परिवारलाई महानगरपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । सोका लागि महानगरपालिका र स्वास्थ्य बिमा बोर्ड, गण्डकी प्रदेशबीच सम्झौता समेत भइसकेको छ ।

महानगरको अति तथा मध्यम गरिब घर परिवारको स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनका लागि विपन्न नागरिकहरूलाई स्वास्थ्य बिमा कार्यान्वयन कार्यविधि, २०८२, स्वास्थ्य बिमा ऐन र नियमावली बमोजिम यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

महानगरभित्रको गरिब घर धुरी पहिचान तथा परिचय पत्र विवरण मार्फत भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्राप्त सूची बमोजिम २०८३ को जेठ मसान्तसम्म लक्षित वर्गको स्वास्थ्य बिमा गरिने भएको हो ।

स्वास्थ्य बिमा नियमावली २०७५ अनुसार ५ जनासम्म सदस्य भएको प्रति परिवारको ३ हजार ५ सय र ५ जना भन्दा बढी सदस्य भएमा प्रति थप सदस्य ७ सय बिमा बापतको रकम महानगरले बिमा बोर्डलाई उपलब्ध गराउनेछ ।

महानगरको निःशुल्क बिमा कार्यक्रममा सहभागी हुन तथा नवीकरणका लागि सम्बन्धित वडा कार्यालयबाट अति तथा मध्यम गरिब घर परिवार पहिचानको सिफारिस र दर्ता सहयोगी मार्फत भरिएको दर्ता फारम समेत संलग्न गरी महानगरको स्वास्थ्य महाशाखामा आवेदन दिनुपर्नेछ । यसरी पेस हुन आएका विवरण सहितका फारमहरू आवश्यक प्रक्रिया पुरा गरी स्वास्थ्य बिमा बोर्डमा बुझाइसकेपछि स्वास्थ्य बिमा सूचना प्रणालीमा प्रविष्ट गरिने महानगरले जनाएको छ ।

यस कार्यक्रम मार्फत महानगर क्षेत्रमा रहेका गरिबिको रेखामुनिको लक्षित वर्गको स्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

यस्तै महानगर प्रमुख धनराज आचार्यले यस कार्यक्रमले आर्थिक अवस्था कमजोर कारण आधारभूत सेवाको पहुँचमा पुग्न नसकेका वर्गलाई निकै ठुलो राहत मिल्ने बताए । उनले महानगरपालिका सम्पूर्ण नगरवासीहरूको स्वास्थ्य सुरक्षा र प्रवर्द्धनका लागि प्रतिबद्ध रहेको समेत बताए ।

यस्तै महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलका अनुसार अति तथा मध्यम गरिब परिवारलाई बिमा गर्ने कार्यका लागि दर्ता सहयोगीलाई आवश्यक अभिमुखीकरण गरिनेछ भने लक्षित वर्गलाई यस कार्यक्रम मार्फत लाभ लिन महानगरपालिकाले अनुरोध समेत गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्