चैत्र १७, काठमाडौं ।।
मौसम पूर्वानुमान महाशाखाले मंगलबार(आज)देशका विभिन्न भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
विषेशगरी हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुको आंशिक प्रभाव र पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको असर देखिएको छ । जसकारण आज दिउँसो कोशी र मधेश प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्न्छ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।
त्यस्तै कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भू-भागका केही स्थानहरू तथा बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ् र हावाहुरीरअसिना सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै आज राति पनि हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा भने हल्का वर्षा तथा हिमपात हुन सक्नेछ ।
महाशाखाका अनुसार भोलि बुधबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।












