चैत्र २७, पोखरा ।।
पोखरामा एक महिलामाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको घटनामा संलग्न दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
चैत्र २५ गते साँझ करिब ७:१५ बजे पोखरा–८ सभागृह चोक नजिक शिवालय चोकमा दुई जना अज्ञात व्यक्तिले ४२ वर्षीया सृजना पौडेल केसीमाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए।
घाइते अवस्थामै उनलाई गण्डकी मेडिकल कलेज पुर्याइएको भए पनि चिकित्सकले सोही दिन साँझ ८:१८ बजे मृत घोषणा गरेका थिए।
यस घटनाबारे विस्तृत जानकारी दिन जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार(आज) पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको थियो ।
उक्त पत्रकार भेटघाट कार्यक्रममा प्रहरीले हत्यामा संलग्न दुई जना व्यक्तिलाई पक्राउ गरेको जानकारी दिइएको हो। पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका–११ घर भई हाल पोखरा–६ बस्दै आएका २७ वर्षीय सन्तोष भन्ने मिमिर केसी र पोखरा–१७ बस्ने ३२ वर्षीय कुशल परियार रहेका छन्।
प्रहरीले पोखराको अति व्यस्त बजारमा दिनदहाडै यस्तो अप्रिय घटना घटे लगतै तत्काल अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानको क्रममा विभिन्न प्रविधि र सूचनाका आधारमा हत्यामा संलग्न दुई अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सफल भएको जनाएको छ।
प्रहरीले उनीहरूलाई घटना घटेको २ दिनमै पक्राउ गर्न सफल भएको हो । पक्राउ परेकामध्ये मिमिर केसी यसअघि अभद्र व्यवहार तथा चोरी–डकैतीसम्बन्धी मुद्दामा समेत संलग्न रहेको खुलेको छ भने कुशल परियार लागूऔषध सम्बन्धी मुद्दामा पहिले नै संलग्न रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा प्रयोग भएको स्कुटर र धारिलो हतियार (खुँडा) समेत बरामद गरिएको छ। अनुसन्धानका क्रममा अभियुक्तहरूले स्कुटरको नम्बर प्लेट छोपेर, मास्क र हेल्मेट लगाई योजनाबद्ध रूपमा आक्रमण गरेको खुलेको छ।
प्रारम्भिक अनुसन्धानबाट मृतक महिला र उनको परिवारबीच केही पारिवारिक विवाद रहेको देखिएको छ। यससँगै अदालतबाट बकसपत्रसम्बन्धी मुद्दामा मृतककै पक्षमा फैसला भएको तथ्य पनि प्रहरीले सार्वजनिक गरिएको छ।
अहिले घटनामा संलग्न व्यक्तिहरू विरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यस्तै अन्य सहयोगी वा संलग्न व्यक्तिहरूको खोजी कार्य समेत जारी रहेको छ। प्रहरीले घटनाको गम्भीरता हेर्दै थप तथ्य संकलन तथा अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।













