वैशाख ८, पोखरा ।।
पर्यटकीय राजधानी पोखराको लेकसाइडमा पर्यटकहरूलाई लक्षित गर्दै हुने लुटपाट तथा अनैतिक गतिविधि बढ्दो चिन्ताको विषय बनेको छ। यसलाई नियन्त्रणमा लिन कास्की प्रहरीले आफ्नो सक्रियता थप तीव्र बनाएको छ।
यसै क्रममा विभिन्न बाहनामा पर्यटकहरुलाई दुःख दिने ३ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार विषेशगरी उनीहरूले पर्यटकहरूलाई फसाई अनावश्यक दुःख दिने, लुटपाट गर्ने तथा अनैतिक क्रियाकलापमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
यस क्षेत्रमा रातिको समयमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई विभिन्न प्रलोभनमा पारेर दुःख दिने र आपराधिक गतिविधि समेत बढेको भन्दै व्यापक जनगुनासो आएको थियो।
सोही जनगुनासोको आधारमा प्रहरीले आफ्नो निग्रानीलाई तीव्र पारेको थियो । यसै क्रममा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले मंगलबार(आज) बिहान करिब २:३० बजे पोखरा–६ स्थित लेकसाइड क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ। यसभन्दा अघि वैशाख ५ गते समेत कास्की प्रहरीले यस्तै कार्यक्रममा संलग्न१६ जना महिलाहरूलाई पक्राउ गरेको थियो ।
कास्कीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गणेश पाण्डेले पर्यटकीय क्षेत्र लेकसाइडलाई सुरक्षित र व्यवस्थित बनाउन यस्ता गतिविधिमाथि निरन्तर निगरानी र कारबाहीलाई जारी राख्ने स्पष्ट परेका छन्।
त्यस्तै यस्ता गतिविधिमा संलग्नहरुको पक्राउले पर्यटकीय नगरी पोखराको छवि सुधार्न र पर्यटकहरूको सुरक्षित बसाइ सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा पनि उनले गरेको बताए ।











