वैशाख ११, पोखरा ।।
कास्कीमा पछिल्लो समय बढ्दो आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले सञ्चालन गरेको “स्वीप अप्रेसन” अन्तर्गत थप ६१ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार(आज) एक विज्ञप्ति जारी गर्दै वैशाख १० गते राति ९ बजेदेखि ११ गते बिहान ६ बजेसम्म कास्कीका विभिन्न स्थानमा यो अपरेसन सञ्चालन गरिएको थियो।
सोही दौरान थप ६१ जनालाई प्रहरीले नियन्त्रणमा लिन सफल भएका हुन्। प्रहरीका अनुसार लागूऔषधको अवैध कारोबार तथा सेवन, सार्वजनिक शान्ति भंग गर्ने गतिविधि, टोले गुण्डागर्दी, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने तथा शंकास्पद रूपमा राति हिँडडुल गर्ने व्यक्तिहरूलाई लक्षित गरी उक्त अप्रेसन चलाइएको हो।
अभियानका क्रममा पोखरा महानगरपालिकाका विभिन्न वडाबाट ती व्यक्तिहरू प्रहरी नियन्त्रणमा परेका हुन्। प्रहरीको विवरणअनुसार पोखरा -२ मोहरियाटोल र ४ को गैह्रापाटनबाट १४ जना, पोखरा -६ लेकसाइड र ड्यामसाइडबाट २४ जना, पोखरा – ८ र ९ स्थित सभागृह चोक, शिवालय चोक र पृथ्वीचोक लगायतबाट ८ जना पक्राउ परेका छन् ।
त्यस्तै पोखरा -१३ र १५ बाट २ जना, पोखरा – १८ र २० बाट ४ जना तथा २६, २७, २९ र ३० बाट गरी ९ जना पक्राउ परेका छन् ।
यसअघि वैशाख १० गते पक्राउ परेका १ सय २३ जनामध्ये ८ जनामाथि लागूऔषध सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको कास्कीका प्रहरी निरीक्षक एवं सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिएका छन् ।
यस्तै पक्राउ परेकामध्ये अन्य २७ जनालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा तथा नैतिकताविरुद्धको कसूरमा कारबाही प्रक्रिया अघि बढाइएको समेत उनले बताए ।
यससँगै १५ जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट जरिवाना गरी रिहा गरिएको छ भने ७० जनालाई सम्झाइबुझाइ गरी आफन्तको जिम्मा लगाइएको छ।
यस्तै थप २ जनालाई भने अनुसन्धानका लागि होल्डमा राखिएको छ। पाण्डेका अनुसार कास्कीमा शान्ति सुरक्षा कायम गर्न तथा आपराधिक गतिविधि नियन्त्रण गर्न आगामी दिनमा पनि कडाइका साथ निगरानी र अप्रेसन जारी रहनेछ ।












