जेठ १३,काठमाडौँ।।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दूग्ध विकास संस्थान (डीडीसी)मा छापा मार्दै महत्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको छ। लैनचौरस्थित डीडीसीको केन्द्रीय कार्यालयमा गरिएको छापामार कारबाहीका क्रममा दूध खरिद–बिक्रीसँग सम्बन्धित कागजात, पाँच कर्मचारीका मोबाइल फोन तथा पछिल्ला तीन वर्षका निर्णयसम्बन्धी फाइलहरू जफत गरिएको हो।
सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठका अनुसार अनुसन्धानको क्रममा आवश्यक विवरणहरू संकलन गरिएको र यो नियमित प्रक्रियाअनुसार गरिएको कारबाही हो।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार डीडीसीमा सम्भावित अनियमितता र किसानलाई दिनुपर्ने दूधको भुक्तानी सम्बन्धी विषयमा केन्द्रित भएर अनुसन्धान भइरहेको छ। केही दिनअघिदेखि डीएसपी नेतृत्वको टोलीले यस विषयमा गहिरो अनुसन्धान अघि बढाएको बताइएको छ।
डीडीसीले देशभरका किसानबाट दूध संकलन गरी बजारमा बिक्री गर्दै आएको छ। तर पछिल्लो समय किसानहरूलाई करिब चार महिनाको ५८ करोड रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी रहेको बताइएको छ। डीडीसीका अधिकारीहरूले भने हालसम्म १२ करोड रुपैयाँ भुक्तानी गरिसकेको दाबी गरेका छन्।
यस घटनाले डीडीसीको कार्यशैली र वित्तीय पारदर्शितामाथि थप प्रश्न उठाएको छ भने अनुसन्धानको निष्कर्षले आगामी दिनमा थप तथ्यहरू सार्वजनिक हुने अपेक्षा गरिएको छ।









