फिर्केखोलाको खोलाघर खाली गराउँदै पोखरा महानगर, अटेरीलाई कारबाहीको चेतावनी
  • प्रमुख खबर

Oplus_0

जेठ १४, पोखरा ।।
फिर्केखोलाको खोलाघर अतिक्रमण गरेर निर्माण गरिएका सबै प्रकारका संरचना हटाउने अभियानलाई पोखरा महानगरपालिकाले तीव्र बनाएको छ।

महानगरले प्राविधिक नापजाँचपछि खोलाको वास्तविक सीमाभित्र परेका स्थायी तथा अस्थायी संरचनाहरू हटाउने कार्य निरन्तर अघि बढाइरहेको जनाएको छ।

महानगरका अनुसार विभिन्न व्यक्ति तथा संस्थाले वर्षौंदेखि खोला मिचेर खोलामाथि नै घरटहरा, व्यवसायिक संरचना तथा अन्य भौतिक निर्माण गरेका कारण फिर्केखोलाको प्राकृतिक बहाव प्रभावित हुँदै आएको थियो।

वर्षायाममा डुबान तथा विपद्को जोखिम बढ्दै गएपछि महानगरले खोलाघर खाली गराउने अभियानलाई प्राथमिकतामा राखेको हो।

यसैबीच केही व्यक्ति तथा संस्थाले अदालतबाट संरचना नभत्काउन, रोक्न वा स्थगन गर्न आदेश लिएको भन्ने समाचार सार्वजनिक भएपनि महानगरपालिकाले आफ्नो अभियान कानुनी प्रक्रिया र अदालतको पूर्व आदेशअनुसार नै अघि बढाइएको स्पष्ट पारेको छ।

महानगरले सम्मानित उच्च अदालतको यसअघिको आदेश, पटक–पटक जारी गरिएका सार्वजनिक सूचना तथा स्वेच्छाले संरचना हटाउन दिइएको पर्याप्त समय समाप्त भएपछि मात्रै डोजर परिचालन गरिएको जनाएको छ।

महानगरले केही संरचना धनीलाई “आफै हटाउने” सर्तमा थप केही दिनको समय दिए पनि त्यसलाई कमजोरीका रूपमा नलिन चेतावनी दिएको छ। “सहजीकरणको नाममा समय दिइएको हो, अभियान रोक्न होइन,” महानगरको भनाइ छ। तोकिएको समयभित्र संरचना नहटाइए महानगर आफैले कानुनी प्रक्रिया अनुसार हटाउने स्पष्ट जनाएको छ।

फिर्केखोला संरक्षण अभियानलाई महानगरले केवल डोजर अभियानका रूपमा नभई दीर्घकालीन सहरी व्यवस्थापन, वातावरण संरक्षण र विपद् जोखिम न्यूनीकरणसँग जोडेको छ।

खोला अतिक्रमण हटाइएपछि प्राकृतिक बहाव पुनःस्थापित हुने, बाढीको जोखिम घट्ने तथा सार्वजनिक सम्पत्तिको संरक्षण हुने महानगरको अपेक्षा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्