जेठ १६,काठमाडौँ।।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ८० वर्ष पुग्न लागेका बेला उनको स्वास्थ्य अवस्थाबारे ह्वाइट हाउसले नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ। पछिल्लो समय राष्ट्रपतिहरूको स्वास्थ्यप्रति बढ्दो चासोबीच सार्वजनिक गरिएको उक्त प्रतिवेदनले ट्रम्प ‘पूर्ण रूपमा स्वस्थ’ रहेको जनाएको छ।
वाल्टर रिड राष्ट्रिय सैन्य चिकित्सा केन्द्रमा गरिएको नियमित स्वास्थ्य परीक्षणपछि शुक्रबार राति सार्वजनिक गरिएको विवरणमा ट्रम्प राष्ट्रपति तथा सेनाको सर्वोच्च कमाण्डरको जिम्मेवारी निर्वाह गर्न पूर्ण रूपमा सक्षम रहेको उल्लेख छ। उनका चिकित्सक अमेरिकी नौसेनाका क्याप्टेन डा. सीन बारबाबेल्लाले ट्रम्पको मुटु, फोक्सो, स्नायुतन्त्र तथा समग्र शारीरिक अवस्था राम्रो रहेको जानकारी दिएका छन्।
मंगलबार गरिएको यो परीक्षण ट्रम्प पुनः राष्ट्रपति बनेपछि तेस्रो स्वास्थ्य परीक्षण हो। प्रतिवेदनअनुसार उनको मानसिक तथा स्नायुसम्बन्धी अवस्था पनि सामान्य देखिएको छ भने अवसाद र चिन्तासम्बन्धी परीक्षणमा कुनै असामान्यता भेटिएको छैन।
आगामी जुन १४ मा ८० वर्ष पुग्ने ट्रम्प अमेरिकी इतिहासमै सबैभन्दा बढी उमेरमा राष्ट्रपति पद सम्हाल्ने व्यक्ति हुन्। यसअघि उनले पूर्वराष्ट्रपति जो बाइडेनको स्वास्थ्य अवस्थालाई चुनावी मुद्दा बनाएका थिए।
यद्यपि प्रतिवेदनमा केही सामान्य स्वास्थ्य समस्या पनि उल्लेख गरिएको छ। ट्रम्पको तल्लो खुट्टामा हल्का सुन्निने समस्या अझै देखिए पनि गत वर्षको तुलनामा सुधार आएको चिकित्सकले बताएका छन्। उनलाई यसअघि ‘क्रोनिक भेनस इन्सफिसियन्सी’ (खुट्टाको नसाबाट रगत प्रवाहमा समस्या) रहेको जानकारी सार्वजनिक गरिएको थियो।
त्यस्तै, उनका हातमा बेला–बेला देखिने चोट वा नीलडाम सामान्य र हानिरहित रहेको जनाइएको छ, जुन बारम्बार हात मिलाउने बानी र मुटुको सुरक्षाका लागि सेवन गरिने कम मात्राको एस्पिरिन औषधिका कारण हुनसक्ने बताइएको छ।
चिकित्सकका अनुसार ट्रम्पले कोलेस्ट्रोल नियन्त्रणका लागि रोसुभास्टाटिन र इजेटिमाइब औषधि सेवन गरिरहेका छन्। साथै, स्वस्थ खानपान, नियमित शारीरिक गतिविधि र तौल घटाउन सुझाव दिइएको छ।
हाल ट्रम्पको तौल २३८ पाउन्ड (करिब १०८ केजी) पुगेको छ, जुन सन् २०२५ को परीक्षणभन्दा १४ पाउन्ड बढी हो। यद्यपि उनले जीवनभर धूम्रपान र मदिराबाट टाढा रहनुले स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको चिकित्सकले बताएका छन्।
गोल्फ खेल्नेबाहेक ट्रम्पले नियमित व्यायाम कम गर्ने र ह्याम्बर्गर तथा फ्रेन्च फ्राइजजस्ता बढी बोसो र नुनयुक्त खाना रुचाउने व्यक्ति मानिन्छन्।
स्रोत-विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यम









