जेठ २०, काठमाडौं ।।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले पूर्वाग्रहपूर्ण ढंगले अघि बढिरहेको आरोप लगाएका छन्।
एमालेको सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।
विषेशगरी उनले अहिलेको सरकारले नयाँ पार्टीका नेता र सेनाको सम्पत्ति छानबिन नगर्ने नीति लिएको भन्दै पुराना पार्टीका मान्छेहरुलाई मात्रै फसाउन लागिपरेको बताए ।
सरकारको यस कदमले राज्यका निकायहरूलाई निष्पक्ष रूपमा प्रयोग गर्नुपर्नेमा राजनीतिक प्रतिशोधको माध्यम बनाउने प्रयास भइरहेको समेत उनले दाबी गरे।
सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोग राज्यले व्यक्ति हेरि छानिछानि फसाउन खोजेको बताउँदै त्यस्तो अयाोगलाई आफूले नमान्ने र बयान पनि नदिने समेत उनले स्पष्ट पारे ।
यस्तै उनले लोकतान्त्रिक व्यवस्थामा राजनीतिक मतभेदलाई कानुनी कारबाहीको माध्यमबाट समाधान खोज्नु उपयुक्त अभ्यास नभएको पनि बताए।










