जेठ २८, पोखरा ।।
लागूऔषध नियन्त्रण, चोरी अनुसन्धान तथा फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाएको कास्की प्रहरीले जेठ महिनाभर उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ। एक महिनाको अवधिमा मात्र कास्की प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गर्नुका साथै दर्जनौँ फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
यस्तै विभिन्न चोरीका घटनाहरूमा संलग्न व्यक्तिहरुलाई पनि नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार(आज) पत्रकार सम्मेलनको आयोजना गर्दै सो कुराको जानकारी दिएको हो ।
यसै क्रममा कास्की प्रहरीले बैशाख ३० गते पोखरा–७ शहीदचोकस्थित हुलाक कार्यालयमा नेदरल्याण्ड्सबाट आएको शंकास्पद पार्सल जाँचका क्रममा एक हजार थान एलएसडी (Lysergic Acid Diethylamide) बरामद गरेको थियो।

प्रहरीका अनुसार यो एक प्रकारको शक्तिशाली लागुऔषध हो । यो लागू औषधको सेवनले व्यक्तिको सोचाइ, भावना र वास्तविकता बुझ्ने क्षमतामा गहिरो प्रभाव पार्ने प्रहरीले जनाएको छ । यस घटनामा संलग्न भारतको केरलाका २८ वर्षीय आयुस अजित पक्राउ परेका छन्। थप अनुसन्धानका क्रममा उनी बस्दै आएको पोखरा–१८ स्थित गेष्टहाउसबाट ७ लाख ४० हजार रुपैयाँ नगद र मोबाइल फोन समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
यस्तै जेठ ३ गते पोखरा–५ पर्स्याङस्थित एक कोठामा गरिएको छापामारीका क्रममा टापेन्टाडोल १०० मिलिग्रामका ३८ हजार ३४० चक्की लागूऔषध बरामद भएको छ। उक्त घटनामा २९ वर्षीय मनिष शाही ठकुरी पक्राउ परेका छन्। घटनास्थलबाट प्रहरीले एक लाख ८९ हजार ५ सय रुपैयाँ नगद समेत बरामद गरेको छ।
कास्की प्रहरीका सूचना अधिकारी वीरेन्द्र कुमार पासवानले जेठ महिनामा लागूऔषध गाँजासम्बन्धी छुट्टाछुट्टै कारबाहीमा चार जना पक्राउ परेका छन्। जेठ ७ र ८ गते पोखराका विभिन्न क्षेत्रमा प्रहरीले सञ्चालन गरेको अभियानका क्रममा आठ किलोभन्दा बढी गाँजा बरामद छ। पक्राउ परेका सबैविरुद्ध लागूऔषध मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

यस महिनामा गरिएको फरार प्रतिवादी पक्राउ अभियानमा पनि कास्की प्रहरीले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। जेठ महिनामा मात्रै ६५ जना फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ परेकामध्ये ३४ जना पुरुष र ३१ महिला रहेका छन्। उनीहरूबाट १४ वर्ष ४ महिना २९ दिन कैद सजाय तथा ९० लाख ६८ हजार ५६० रुपैयाँ जरिवाना असुल हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका अधिकांश व्यक्ति चेक अनादर, चोरी, सार्वजनिक अपराध, बैंकिङ कसुर तथा लागूऔषधसम्बन्धी मुद्दाका प्रतिवादी रहेको सूचना अधिकारी पासवानले बताए ।
त्यस्तै पर्यटकीय क्षेत्र लेकसाइडमा पनि प्रहरी कारबाही सक्रिय देखिएको छ। नेपाली नागरिकको पर्स चोरी गरेको आरोपमा युगाण्डाका दुई नागरिक पक्राउ परेका छन्।
यसैबीच सार्वजनिक स्थानमा होहल्ला तथा अभद्र व्यवहार गरेको आरोपमा थप तीन जना युगाण्डाली नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
यस अवधिमा सुनका गरगहना चोरीका दुई महत्वपूर्ण घटनाको समेत सफल अनुसन्धान गरिएको छ। पोखरा–१८ खपौंदीस्थित एक घरबाट करिब १८ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको घटनामा चोरी गर्ने र चोरीका गरगहना खरिद गर्ने गरी दुई जनालाई पक्राउ गरिएको छ।
त्यस्तै पोखरा–९ न्यूरोड प्रगतिटोलमा भएको चोरी घटनामा संलग्न पाँच जनालाई पनि पक्राउ गरी मुद्दा अदालतमा पेश गरिएको छ। अदालतले दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ भने अन्यलाई धरौटीमा रिहा गरेको छ।
यस्तै शहरी व्यवस्थापन तथा सार्वजनिक सुव्यवस्था कायम गर्ने अभियानअन्तर्गत प्रहरीले पोखराका विभिन्न स्थानमा फुटपाथ अतिक्रमण गरी अव्यवस्थित पार्किङ गरिएका १ हजार ६० वटा सवारीसाधनमाथि कारबाही गरेको छ।
योसँगै प्रहरीले जेठ महिनामा अवैध रूपमा ढुंगा, गिट्टी तथा बालुवा उत्खनन र ओसारपसारमा संलग्न १४ वटा सवारीसाधन नियन्त्रणमा लिएर स्थानीय तहमार्फत कारबाही गरिएको छ। ती सवारीसाधनबाट २ लाख २९ हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।










