अषाढ १६, पोखरा ।।
गण्डकी प्रदेशमा एचआईभी/एड्स नियन्त्रण कार्य प्रभावकारी देखिएको छ। एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ)नेपाल , प्रादेशिक स्वास्थ्य केन्द्र गण्डकी र पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको संयुक्त आयोजनामा आज भएको पत्रकार अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले सो कुरा बताएका हुन्।
उक्त अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले उपचारमा रहेका संक्रमितमध्ये भाइरल लोड परीक्षण गराएका करिब ९८ प्रतिशत व्यक्तिमा भाइरस प्रभावकारी रूपमा नियन्त्रणमा रहेको तथ्य सार्वजनिक गरेका थिए।
उनीहरूका अनुसार यो उपलब्धिले नियमित उपचार र औषधि सेवनको प्रभावकारिता पुष्टि गर्नुका साथै सन् २०३० सम्म एचआईभी महामारी अन्त्य गर्ने लक्ष्यतर्फ प्रदेश सही दिशामा अघि बढिरहेको संकेत गरेको छ।
यस्तै प्रादेशिक जनस्वास्थ्य केन्द्रका क्षयकुष्ठ अधिकृत लक्ष्मण बसौलाले परीक्षण सेवाको पहुँच विस्तारसँगै परीक्षण गराउनेको संख्या पनि निरन्तर बढ्दै गएको बताए।
उनका अनुसार आर्थिक वर्ष २०८०/८१, २०८१/८२ र २०८२/८३ (जेठसम्म) को तुलनात्मक तथ्याङ्कले कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी र बागलुङ जिल्लामा एचआईभी परीक्षणको दायरा उल्लेखनीय रूपमा विस्तार भएको देखाएको छ।
आमाबाट शिशुमा एचआईभी संक्रमण रोक्ने उद्देश्यले सञ्चालित पीएमटीसीटी कार्यक्रमअन्तर्गत पछिल्ला तीन वर्षमा प्रदेशभरका एचटीसी केन्द्रमार्फत १ लाख ३० हजार ४९ गर्भवती महिलाको एचआईभी परीक्षण गरिएको छ।
यस्तै कार्यक्रममा पोखरा एआरटी सेन्टरका कन्सल्ट्यान्ट एंव फिजिसियन डा. राजेन्द्र पौडेलले तथ्याङ्क प्रस्तुत गर्दै प्रदेशमा उपचारमा रहेका १ हजार ६३८ संक्रमितमध्ये १ हजार ४६० जनाले भाइरल लोड परीक्षण गराएका छन्।
तीमध्ये १ हजार ४२५ जनाको भाइरल लोड नियन्त्रणमा रहेको छ। यो परीक्षण गराएकामध्ये करिब ९८ प्रतिशत हो। हाल गण्डकी प्रदेशमा ११ वटा एचआईभी परीक्षण तथा परामर्श (एचटीसी) केन्द्र, ११ वटा एआरटी केन्द्र र ४ वटा एआरभी औषधि वितरण केन्द्र सञ्चालनमा छन्।
यी केन्द्रमार्फत एचआईभी परीक्षण, परामर्श, नियमित उपचार तथा निःशुल्क औषधि वितरण सेवा उपलब्ध गराइँदै आएको छ। सो कार्यक्रममा प्रस्तुत गरिएको विवरणले उपचारमा रहेका १ हजार ६३८ संक्रमितमध्ये ८६८ पुरुष, ७६५ महिला र ५ जना तेस्रो लिंगी छन्।
उमेर समूहका आधारमा ० देखि १४ वर्षका ३१ जना र १५ वर्षमाथिका १ हजार ६०७ जना नियमित एआरटी सेवामा आबद्ध छन्। पौडेलले विषेशगरी समयमै परीक्षण, नियमित औषधि सेवन र चिकित्सकीय निगरानीमा रहे एचआईभी संक्रमितले पनि अन्य व्यक्तिसरह स्वस्थ र सामान्य जीवन बिताउन सक्ने बताए।
उनले संक्रमण लुकाएर बस्नुभन्दा परीक्षण गराई उपचारमा आउन आग्रह गर्दै समाजमा अझै कायम रहेको भ्रम, लाञ्छना र विभेद अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा एएचएफ नेपालकी कार्यक्रम संयोजक गंगा ढकालले संस्थाको आर्थिक अवस्था जस्तोसुकै भएपनि एचआईभी संक्रमित सेवाग्राहीहरूका लागि उच्च गुणस्तरीय औषधिको उपलब्धता सुनिश्चित गर्न आफूहरूले लागि परिरहेको हुगरिरहेको बताइन् ।
सन् २००८ मा नेपालमा दर्ता भएको एएचएफले हाल सरकारका २० वटा एआरटी क्लिनिकहरूसँग समन्वय गरी सेवा प्रदान गर्दै आएको छ ।
संस्थाले केवल स्वास्थ्य उपचारमा मात्र नभई संक्रमितहरूको सामाजिक पुनस्र्थापना, पोषण र मनोसामाजिक परामर्शमा समेत सहयोग गर्दै आएको ढकालले बताइन् ।
यस्तै कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित एएचएफ नेपालका कन्ट्री डाइरेक्टर दिव्यराज जोशीले सन् २०३० सम्म एचआईभी महामारी अन्त्य गर्ने लक्ष्य पूरा गर्न सरकार, स्वास्थ्य संस्था, सञ्चारमाध्यम र समुदायबीच अझ सशक्त सहकार्य आवश्यक रहेको बताए। जोशीले नेपालको स्वस्थ्य क्षेत्रमा १० प्रतिशत बजेट मात्र छुट्याइए पनि जम्मा ४ प्रतिशतले मात्र काम चलाउन परेको जानकारी दिए ।









