विश्वकपको नकआउट चरण सुरु, पहिलो खेल स्पेन र अस्ट्रियाबीच हुँदै
  • प्रमुख खबर

अषाढ १८, काठमाडौं ।।
फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज र भोलि तीन रोचक प्रतिस्पर्धा हुँदैछन्। अघिल्लो चरणको प्रदर्शनपछि अन्तिम–१६ मा पुगेका टोलीहरू अब उपाधि यात्रालाई निरन्तरता दिने लक्ष्यमा मैदान उत्रनेछन्।

सबैभन्दा बढी चासोको खेलमा भोलि बिहान पौने ५ बजे पोर्चुगल र क्रोएशिया क्यानडाको टोरन्टो रङ्गशालामा आमनेसामने हुँदैछन्।

समूह ‘के’ को उपविजेता पोर्चुगल र समूह ‘एल’ को उपविजेता क्रोएशिया पहिलो पटक विश्वकपमा एकअर्काविरुद्ध खेल्न लागेका हुन्। दुवै टोलीबीच अहिलेसम्म १० अन्तर्राष्ट्रिय भेट भएको छ। त्यसमा पोर्चुगलले ७ खेल जितेको छ भने क्रोएशियाले केवल एक जित निकालेको छ। बाँकी दुई खेल बराबरीमा टुङ्गिएका छन्।

यसअघिको इतिहास पोर्चुगलको पक्षमा देखिए पनि विश्वकपको नकआउट चरणमा कुनै पनि टोलीलाई कमजोर आँक्न सकिँदैन। यसअघि आज राति पौने १ बजे स्पेन र अस्ट्रियाबीच प्रतिस्पर्धा हुँदैछ।

समूह ‘एच’ को विजेता स्पेन र समूह ‘जे’ को उपविजेता अस्ट्रिया क्वार्टरफाइनल यात्राको लक्ष्यसहित मैदान उत्रनेछन्।

सन् २०१० को विश्वविजेता स्पेन र अस्ट्रियाबीच विश्वकपमा यो दोस्रो भेट हो। पहिलो भेट सन् १९७८ मा भएको थियो । त्यस समय अस्ट्रियाले स्पेनलाई २–१ को गोल अन्तरले जित हात पारेको थियो। समग्रमा दुई टोलीबीच भएका १६ खेलमध्ये स्पेनले ९, अस्ट्रियाले ४ जितेका छन् भने ३ खेल बराबरीमा सकिएका छन्।

यस्तै भोलि बिहान पौने ९ बजे स्विट्जरल्यान्ड र अल्जेरिया आमनेसामने हुनेछन्। समूह ‘बी’ को विजेता स्विट्जरल्यान्ड र उत्कृष्ट तेस्रो स्थानको टोलीका रूपमा नकआउटमा पुगेको अल्जेरिया पहिलो पटक विश्वकपमा एकअर्कासँग भिड्न लागेका हुन्।

दुवै टोलीबीच यसअघि भएका दुई अन्तर्राष्ट्रिय भेटमा स्विट्जरल्यान्ड विजयी भएको इतिहास छ। तर नकआउट चरणमा अल्जेरिया नयाँ इतिहास रच्ने लक्ष्यसहित मैदानमा उत्रदैछ ।

हालसम्म विश्वकपको प्रिक्वाटरफाइनलका १० टोलीको भिडन्त तय भइसकेको छ। क्यानडा–मोरक्को, पाराग्वे–फ्रान्स, अमेरिका–बेल्जियम, ब्राजिल–नर्वे, मेक्सिको–इङ्ग्ल्यान्ड, स्पेन–अस्ट्रिया, पोर्चुगल–क्रोएशिया तथा स्विट्जरल्यान्ड–अल्जेरियाबीचको प्रतिस्पर्धाले विश्वकपको रोमाञ्चलाई अझ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्