५० भन्दा बढी प्रतिष्ठित कम्पनीको सहभागितासहित पोखरामा रोजगार मेला सुरु
  • प्रमुख खबर

अषाढ १८, पोखरा ।।
पोखरामा रोजगार मेला (जब फेयर) सुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघ तथा ग्रोथ सेलर्सको आयोजना र पोखरा महानगरपालिकाको प्रवर्द्धनमा मेला आयोजना गरिएको हो ।

उक्त मेलाको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका छन् । जागिर खोज्ने र जागिर दिनेहरूलाई एकै स्थानमा भेट गराई रोजगार चाहनेलाई सोही मेलाबाट नै रोजगारी प्रदान गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो ।

मेलामा रोजगार चाहनेहरूले आफ्नो व्यक्तिगत विवरण पेस गर्नेदेखि रोजगारदाताले आफूलाई चाहिएको जनशक्तिबारे जानकारी दिने कार्यक्रम रहेको छ । मेलामा नेपालका प्रतिष्ठित ५० बढी रोजगारदाता कम्पनीहरूको सहभागिता रहेका छन्।

विषेशगरी उद्यमशिला विकास, रोजगारी सृजना र स्वरोजगारीयुक्त जनशक्ति तयार गर्ने सन्दर्भमा पोखरा महानगरपालिका निरन्तर लागिरहेको नगर प्रमुख आचार्यले बताए ।

उनले नगर क्षेत्रमा बसोबास गर्ने नगरवासीहरूलाई दक्ष र सीपयुक्त बनाउँदै रोजगारीसँग जोड्ने कार्यलाई व्यवसाय प्रवर्द्धन केन्द्रमार्फत निरन्तर कार्यक्रमहरू सञ्चालन गरिएको पनि स्पष्ट पारे ।

महानगरपालिकाले केन्द्र मार्फत तालिम, प्रशिक्षण, मेला तथा प्रवर्द्धनात्मक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको मेयर आचार्यले उल्लेख गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्