फिफा विश्वकपको क्वार्टरफाइनल प्रवेशका लागि स्पेन र पोर्चुगल आमनेसामने हुँदै
  • प्रमुख खबर

अषाढ २१, काठमाडौं ।।
फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल प्रवेशका लागि आज दुई शक्तिशाली टोली स्पेन र पोर्चुगल आमनेसामने हुँदैछन्। अमेरिकाको डलासस्थित स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ।

आजको खेल दुई राष्ट्रबीच हुने कडा प्रतिस्पर्धा मात्र नभई
दुई फरक पुस्ताबीचको रोमाञ्चक भिडन्त पनि हो। एकातिर पोर्चुगलका ४१ वर्षीय महान् स्ट्राइकर क्रिस्टियानो रोनाल्डो छन् भने अर्कोतर्फ स्पेनका १८ वर्षीय उदाउँदो सुपरस्टार लामिन यमाल छन्।

रोनाल्डोले सन् २००६ मा विश्वकप डेब्यु गर्दा यमाल जन्मिएकै थिएनन्। तर आज हुने यस खेलमा उनीहरू विश्वकपको सबैभन्दा ठूलो मञ्चमा एकअर्काविरुद्ध मैदान उत्रँदै छन्।

समूह ‘एच’ को विजेता स्पेन यस विश्वकपमा उत्कृष्ट लयमा छ। राउन्ड अफ ३२ मा अस्ट्रियालाई ३–० ले हराउँदै प्रशिक्षक लुइस डे ला फुएन्टेको टोलीले आफ्नो दाबेदारी अझ बलियो बनाएको थियो।

स्पेनले प्रतियोगिताभर अहिलेसम्म एक गोल पनि खाएको छैन। गोलकिपर उनाई सिमोनले लगातार ५१९ मिनेट गोल नखाई विश्वकपको ३६ वर्ष पुरानो कीर्तिमान समेत तोडिसकेका छन्।

यता समूह ‘के’ को उपविजेता पोर्चुगलले भने अन्तिम १६ सम्म पुग्न कठिन परीक्षा पार गर्नुपरेको थियो।

क्रोएसियाविरुद्ध १–० ले पछि परेको अवस्थामा रोनाल्डोको पेनाल्टी र इन्जुरी समयमा गोन्सालो रामोसको निर्णायक हेडर गोलमा २–१ को पुनरागमन जित निकाल्दै पोर्चुगलले अन्तिम १६ मा स्थान बनाएको थियो ।

४१ वर्षीय रोनाल्डोका लागि यो सम्भवतः अन्तिम विश्वकप हुन सक्छ। उनले उज्बेकिस्तानविरुद्ध दुई गोल गर्दै लगातार छ विश्वकपमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बन्ने ऐतिहासिक उपलब्धि पनि हासिल गरिसकेका छन्।

सन् १९२१ यता यी दुई टोली ४४ पटक आमनेसामने भएका छन्। त्यसमध्ये स्पेनले १९ खेल जितेको छ भने पोर्चुगलले केवल ७ खेल आफ्नो पक्षमा हात पारेको छ। बाँकी १८ खेल बराबरीमा टुंगिएका छन्। यी दुई टोलीबीच पछिल्लोपटक सन् २०२५ को यूईएफए नेसन्स लिगको फाइनलमा भेट भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्