अषाढ २८, काठमाडौं ।।
फिफा विश्वकप २०२६ को उपाधि दौड अब अन्तिम चार टोलीमा सीमित भएको छ। आइतबार(आज) बिहान सम्पन्न क्वाटरफाइनल खेलसँगै विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको हो।
यस प्रतियोगिताको अन्तिम चारमा पुग्ने टोलीमा इंग्ल्यान्ड, अर्जेन्टिना, फ्रान्स र स्पेन छन् । इंग्ल्यान्ड र अर्जेन्टिनाले अन्तिम दुई क्वाटरफाइनल जित्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् । इंग्ल्यान्डले नर्वेलाई २–१ गोल अन्तरले हराएको हो ।
यस्तै साविक विजेता अर्जेन्टिनाले अतिरिक्त समयमा स्विट्जरल्यान्डमाथि ३–१ को जित निकाल्दै विश्वकपको उपाधिका आफ्नो स्थान सुरक्षित गरेको हो ।
यसअघि नै फ्रान्स र स्पेनले सेमिफाइनलमा स्थान बनाइसकेका थिए। फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै लगातार तेस्रो विश्वकप सेमिफाइनल यात्रा तय गर्यो भने स्पेनले बेल्जियमलाई २–१ ले हराउँदै सन् २०१० पछि पहिलो पटक अन्तिम चारमा स्थान बनाएको हो ।
यसपटकको विशेषता भनेको सेमिफाइनलमा पुगेका चारै टोली विश्वकपका पूर्व विजेता हुनु हो। अर्जेन्टिनाले तीन पटक, फ्रान्स दुई पटक तथा इंग्ल्यान्ड र स्पेनले समान एक–एक पटक विश्वकपको उपाधि जितिसकेका छन्।
यससँगै यी चारै टोली हाल फिफा वरियताको शीर्ष चार स्थानमा समेत छन्। सबैभन्दा शीर्ष स्थानमा अर्जेन्टिना, दोस्रोमा स्पेन, फ्रान्स तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छन्।
यता नर्वे र स्विट्जरल्यान्ड क्वाटरफाइनलबाट बाहिरिएसँगै यस संस्करणमा नयाँ विश्व च्याम्पियन बन्ने सम्भावना पनि समाप्त भएको छ। अब पहिलो सेमिफाइनल असार ३१ गते अमेरिकाको डालासमा फ्रान्स र स्पेन आमनेसामने हुनेछन्। खेल नेपाली समयअनुसार बिहान १२:४५ बजे सुरु हुनेछ।
दोस्रो सेमिफाइनल असार ३२ गते इंग्ल्यान्ड र अर्जेन्टिना अमेरिकाको एटलान्टा स्टेडियममा भिड्नेछन्। यो खेल पनि नेपाली समयअनुसार बिहान १२:४५ बजे सुरु हुनेछ।
यस्तै दुवै सेमिफाइनलका विजेताबीच साउन ४ गते अमेरिकाको न्युयोर्क–न्यु जर्सी स्टेडियममा विश्वकपको उपाधिका लागि फाइनल प्रतिस्पर्धा हुनेछ।









