कास्की प्रहरीद्वारा ठूलो परिमाणमा लागूऔषधसहित पाँच जना भारतीय नागरिक पक्राउ
  • प्रमुख खबर

अषाढ २८, पोखरा ।।
कास्की प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित पाँच जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पोखरा -३२, मझुवा क्षेत्रमा अषाढ २८ गते राति करिब १० बजेको समयमा लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट यूपी५३इवाई७७०४
(UP53EY7704)नम्बरको कारलाई रोकी खानतलासी गर्दा गाडीका विभिन्न भागमा लुकाइछिपाइ राखिएको ठूलो परिमाणको लागूऔषध बरामद भएको हो ।

प्रहरीले उक्त कारबाट डाइजापाम ६०० एम्पुल, फेनरागन ६४८ एम्पुल र बुप्रिनोर्फिन ६०० एम्पुल गरी १ हजार ८४८ एम्पुल लागूऔषध बरामद गरेको छ।

यस्तै नाइट्रोभ्याट ३० चक्की, ट्यापेन्टाडोल १०० चक्की, ट्रामाडोल ३८० चक्की र पाँच थान मोबाइल फोन समेत बरामद गरिएको छ।

यस घटनामा संलग्न रहेको आरोपमा भारतको उत्तर प्रदेश, गोरखपुरका २७ वर्षीय विकाश, २९ वर्षीय आशिष कुमार र अभय कुमार मिश्रा, ३३ वर्षीय पृतम कुमार र २५ वर्षीय अबिशेक कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका पाँचै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्