विश्वकपमा आजदेखि सेमिफाइनलको महासंग्राम, उपाधि होडमा फ्रान्स, स्पेन, इंग्ल्यान्ड र अर्जेन्टिना
  • प्रमुख खबर

अषाढ ३०, काठमाडौं ।।
फिफा विश्वकप २०२६ अन्तर्गत आज रातिदेखि सेमिफाइनल चरणका खेल सुरु हुँदैछन्। प्रतियोगिताको अन्तिम चारमा विश्व फुटबलका सबैभन्दा सफल तथा फिफा वरियताका शीर्ष चार राष्ट्र फ्रान्स, स्पेन, इंग्ल्यान्ड र अर्जेन्टिना पुगेसँगै उपाधि होड थप रोमाञ्चक बनेको छ।

पहिलो सेमिफाइनलमा मंगलबार(आज)राति फ्रान्स र स्पेन आमनेसामने हुँदैछन्। यो खेल नेपाली समयअनुसार मध्यराति १२:४५ बजे सुरु हुनेछ। दुवै राष्ट्रले फिफा विश्वकपको उपाधि जितिसकेको छ ।

यस्तै दोस्रो सेमिफाइनलको खेल भोलि बुधबार मध्यराति १२:४५ बजे इंग्ल्यान्ड र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ। विषेशगरी विश्व फुटबलका दुई प्रतिद्वन्द्वीबीचको यो खेलले विश्वभरका फुटबल समर्थकको ध्यान तानेको छ।

यस पटकको फिफा विश्वकप २०२६ अन्तर्गत सेमिफाइनल पुग्ने क्रममा फ्रान्सले क्वाटरफाइनलमा मोरक्कोलाई २–० ले पराजित गरेको थियो भने स्पेनले बेल्जियमलाई २–१ गोलअन्तरले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

त्यस्तै इंग्ल्यान्डले अतिरिक्त समयमा नर्वेलाई २–१ ले हराउँदा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई २–१ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो ।

फुटबलको इतिहासलाई हेर्ने हो भने सेमिफाइनलमा पुगेका चारै राष्ट्र विश्व फुटबलका स्थापित शक्ति हुन्।

अर्जेन्टिना तीन पटक विश्वकपको उपाधि जितिसकेको टोली हो भने फ्रान्स दुई पटक विश्वविजेता बनेको छ। स्पेन र इंग्ल्यान्डले समान एक–एक पटक विश्वकप जितेका छन्।

यसैबीच प्रतियोगिताको फाइनल खेल नेपाली समयअनुसार साउन ३ गते आइतबार राति १२:४५ बजे हुनेछ। सेमिफाइनलका विजेता टोलीहरू उपाधिका लागि भिड्नेछन् भने पराजित टोलीहरूले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्