साउन ४, पोखरा ।।
१६ वर्षको लामो पर्खाइपछि फिफा विश्वकप २०२६ को उपाधि स्पेनले जितेको छ । रोमाञ्चक र प्रतिस्पर्धात्मक फाइनलमा साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गर्दै स्पेन विश्वकप फुटबलको उपाधि आफ्नो नाममा गर्न सफल भएको हो ।
स्पेनले विश्वकपको उपाधि जित्दै नयाँ पुस्ताको नेतृत्वमा विश्व फुटबलमा आफ्नो स्वर्णिम युग पुनर्जीवित गरेको सन्देश दिएको छ।
अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा सम्पन्न फाइनल खेल निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा प्रवेश गरेको थियो।
खेलको नतिजा अन्ततः स्पेनका स्टार फरवार्ड फेरान टोरेसले १०६औँ मिनेटमा गरेको निर्णायक गोलले तय गर्यो । फाइनलको अन्तिमतिर अर्जेन्टिनाले ठूलो धक्का बेहोर्नुपर्यो।
निर्धारित समयको अन्तिम चरणमा मिडफिल्डर एन्जो फर्नान्डेजले दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डसहित मैदान छाड्न बाध्य भए। त्यसपछि १० खेलाडीमा सीमित अर्जेन्टिनाले अतिरिक्त समयमा स्पेनको तीव्र दबाब सामना गर्न सकेन र अन्ततः उपाधिबाट वञ्चित बन्यो।
यस उपाधिसँगै स्पेनले सन् २०१० पछि पहिलोपटक विश्वकप जित्दै १६ वर्ष लामो प्रतीक्षाको अन्त्य गरेको छ। अर्कोतर्फ साविक विजेता अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप जित्ने सपना भने अधुरै रहन गयो ।
अर्जेन्टिनाले सन् २०२२ मा विश्वकपको उपाधि जितेको थियो। यस विश्वकपभर स्पेनको प्रदर्शन असाधारण रह्यो। आठ खेल खेल्दा उसले जम्मा एक गोल मात्र बेहोरेको छ, जुन विश्वकप इतिहासमा कुनै पनि च्याम्पियन टोलीले प्रतियोगिताभर खाएको सबैभन्दा कम गोलको नयाँ कीर्तिमान बनेको छ।
स्पेनको अपराजित यात्राले पनि नयाँ इतिहास रचेको छ। टोली अहिले लगातार ३८ अन्तर्राष्ट्रिय खेलमा अपराजित रहेको छ, जसमा २९ जित र ९ बराबरी समावेश छन्। यो कुनै पनि युरोपेली राष्ट्रले कायम गरेको सबैभन्दा लामो अपराजित शृङ्खला हो। यसअघि यो कीर्तिमान इटालीको नाममा थियो। इटालीले अक्टोबर २०१८ देखि सेप्टेम्बर २०२१ सम्म लगातार ३७ खेलमा अपराजित रहँदै २८ जित र ९ बराबरीको उपलब्धि हासिल गरेको थियो।
स्पेनले उक्त कीर्तिमान ऐतिहासिकलाई पछि पार्दै नयाँ मानक स्थापित गरेको हो। पछिल्ला दुई वर्षभन्दा बढी समयदेखि स्पेनलाई कुनै पनि टोलीले पराजित गर्न नसकेको तथ्यले टोलीको निरन्तर उत्कृष्ट लय र सन्तुलित प्रदर्शनलाई झन् बलियो बनाएको छ।
आक्रामक खेलशैली, अनुशासित रक्षापङ्क्ति र प्रभावशाली टोली समन्वयका कारण स्पेनले विश्व फुटबलमा आफ्नो दबदबा पुनः स्थापित गरेको छ।
विषेशगरी स्पेनको विश्वकप यात्रामा १९ वर्षीय युवा स्टार लामिन यमालको प्रदर्शन पनि उत्तिकै प्रेरणादायी रह्यो। उमेरले किशोरावस्थामै रहेका यमालले प्रत्येक खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आफ्नो राष्ट्रलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेले ।
फाइनलमा गोल गर्न नसके पनि यमालले अर्जेन्टिनाको रक्षापङ्क्तिलाई लगातार दबाबमा राख्दै स्पेनका लागि अवसर सिर्जना गरिरहे। उनको सक्रिय खेलका कारण अर्जेन्टिनाका डिफेन्डरहरू अधिकांश समय रक्षामै सीमित हुन बाध्य भए।
अतिरिक्त समयमा फेरान टोरेसले गरेको निर्णायक गोलअघि पनि स्पेनले निरन्तर आक्रमण गर्न सफल हुनुमा यमालको भूमिका उल्लेखनीय रह्यो। १९ वर्षको उमेरमै विश्वकप विजेता टोलीको प्रमुख सदस्य बनेका यमालले स्पेनको नयाँ स्वर्णिम पुस्ताको नेतृत्व गर्ने संकेत दिएका छन्।









