२०औँ एसियाली खेलकुदलाई लक्षित गर्दै राखेपका उपाध्यक्ष श्रेष्ठले गरे प्रशिक्षकहरुसँग छलफल
  • प्रमुख खबर

साउन ५, काठमाडौं ।।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठले परिषद्अन्तर्गत कार्यरत विभिन्न खेलका मुख्य प्रशिक्षकहरुसँग छलफल गरेका छन् । २० औं एसियाली खेलकुद प्रतियोगिताको तयारीलाई लिएर उपाध्यक्ष श्रेष्ठले
प्रशिक्षकहरुसँग छलफल गरेका हुन् ।

उक्त छलफल कार्यक्रममा उनले प्रत्येक खेलको वर्तमान प्रशिक्षण अवस्था, खेलाडीको तयारी, प्रशिक्षकको भूमिका, उपलब्ध स्रोत–साधन तथा प्रशिक्षण व्यवस्थापनबारे जानकारी लिइएको थियो ।

उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रदर्शन सुदृढ बनाउन योजनाबद्ध र परिणाममुखी तयारी अपरिहार्य रहेको उल्लेख गर्दै प्रशिक्षकहरूलाई जिम्मेवारीपूर्वक काम गर्न निर्देशन समेत दिए ।

उनले खेलाडीको क्षमता अभिवृद्धिका लागि वैज्ञानिक र आधुनिक प्रशिक्षण प्रणाली अपनाउनुपर्ने आवश्यकता पनि औंल्याए।

सो छलफलका क्रममा विभिन्न खेलका मुख्य प्रशिक्षकहरूले आ–आफ्ना खेलको तयारी, चुनौती, आवश्यक स्रोत–साधन तथा आगामी कार्ययोजनाबारे धारणा राखेका थिए।

उनीहरूले प्रशिक्षणलाई अझ प्रभावकारी बनाउन आवश्यक सहयोग र समन्वयका विषयमा पनि सुझाव प्रस्तुत गरेका थिए।

कार्यक्रममा राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ, तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंह लगायत सम्बन्धित अधिकारीहरूको उपस्थिति रहेको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्