साउन २१, काठमाडौं ।।
गएराति गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मुसलधारे पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, गुल्मी, गोरखा र पाल्पा लगायतका जिल्लामा मध्यमदेखि मुसलधारे वर्षा भएको हो । काठमाडौं उपत्यकासहितका अरू ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ । केही ठाउँमा अहिले पनि पानी परिरहेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार त्रिशूली, मर्स्याङ्दी, सेती गण्डकी र कालीगण्डकी नदीमा पानीको सतह बढ्दै गएको छ । गण्डकी प्रदेशका पहाडी जिल्लामा आज बेलुकीसम्म थप वर्षा हुने सम्भावना रहेकाले नारायणी नदी आसपासका डुबान हुने क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज पनि बागमती प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्र, गण्डकी प्रदेशका हिमाल, पहाड र तराई, कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग, मधेश प्रदेशका विभिन्न ठाउँ तथा लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।









