साउन २३, काठमाडौं ।।
जनता समाजवादी पार्टी (जसपा) नेपाल सहित सात राजनीतिक दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने भएका छन् ।
अहिले केहीबेरमा उनीहरूले काठमाडौंको ब्यांक्वेट थापागाउँमा एक कार्यक्रमको आयोजना गर्दै उक्त घोषणा गर्न लागेको हो ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रचार विभाग प्रमुख रजमान तामाङका अनुसार सात दल मिलेर नै आजको कार्यक्रम हुन् लागेको जानकारी दिए ।
ती सात दलमा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल रहेका छन् ।
उनका अनुसार विषेशगरी यस अग्रगामी मोर्चाको उद्देश्य, संरचना तथा भावी कार्यदिशाबारे सोही कार्यक्रममा जानकारी दिइने पनि बताए । गत सोमबार ललितपुरमा छलफल गरेर साना सात दलहरूले ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने निर्णय गरेका थिए ।
छलफलमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा, जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसहितका नेताहरू छलफलमा जुटेका थिए । आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, जसपा नेपालका नेता जितेन्द्र सोनल पनि सहभागी थिए ।









