साउन २८, काठमाडौं ।।
चुनदेवीमा रहेको नेपाली कांग्रेसको इतर समूहको सम्पर्क कार्यालयमा शेरबहादुर देउवाको छुट्टै कार्यकक्ष स्थापना गरिएको छ। उनको कार्यकक्ष बाहिर र भित्र सभापति शेरबहादुर देउवा लेखिएको नेमप्लेट राखिएको छ। तर हाल कांग्रेसको सभापति गगनकुमार थापा छन्।
माघ १ गते कांग्रेसको विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका हुन्। उनको नेतृत्वलाई निर्वाचन आयोग तथा अदालतले समेत मान्यता दिइसकेको छ। तर तत्कालीन उपसभापति पूर्णबहादुर खड्कासहितका नेताहरुले त्यसविरुद्ध पुनरवेदनको दिएका थिए। यसका लागि हालै सर्वोच्च अदालतले पुन:सुनुवाइको आदेश गरेको छ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवा गत वर्ष भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा आक्रमणमा परेका कारण उपचारका लागि भन्दै फागुन १३ गते सिंगापुर गएका थिए। त्यहाँबाट उनी थप उपचारको लागि हङकङ गएका थिए ।
पाँच महिनाको लामो विदेश बसाई पछि मात्र उनी आज स्वदेश फर्किएका हुन् । उनी फर्किएको खुसियालीमा इतर समूहका नेता कार्यकर्ताहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगी बाजागाजासहित भव्य रूपमा स्वागत गरेका थिए । इतर समूहले थापालाई सभापतिको रुपमा स्वीकारेको छैन।







