साउन २९, काठमाडौं ।।
खाना पकाउने एलपी ग्यासको अनावश्यक भण्डारण नगर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा उपभोक्तालाई आग्रह गरेको छ।
पछिल्लो समय बजारमा उपभोक्ताहरूबाटै अनावश्यक रुपमा ग्यास भण्डारण हुन थालेपछि यसको कृतिम अभाव रहेको छ । तर बजारमा होहल्ला गरेको जस्तो अभाव नभई ग्याँसको आपूर्ति सामान्य रहेको मन्त्रालयले जनाएको छ । यदि ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने जोकोहीलाई मन्त्रालयले कारबाही गर्ने र त्यस्ता व्यक्तिको सूचना दिने उपभोक्तालाई पुरस्कृत गर्ने घोषणासमेत गरेको छ।
शुक्रबार(आज) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नेत्रप्रसाद सुवेदीले ग्यासको आयात साविकभन्दा बढेको तथ्यांक समेत पेस गरेका छन्।
यस्तै मन्त्रालयका अनुसार नेपाल आयल निगमले आधा सिलिन्डरको सट्टा पूर्ण क्षमताको सिलिन्डर वितरण गर्ने निर्णय गरेपछि बजारमा एकैपटक माग बढेका कारण केही असहजता देखिएको छ।
उनले सामान्य अवस्थामा दैनिक औसत एक लाख १० हजार सिलिन्डर बजारीकरण हुने गरेकोमा पछिल्लो समय दैनिक एक लाख ३२ हजार सिलिन्डर बजारमा गइरहेको जानकारी दिएका छन्।
वर्षायामका कारण ढुवानीमा केही ढिलाइ हुन सक्ने भए पनि आपूर्तिमा कुनै समस्या नरहेको भने उनले बताए।
बढ्दो मागलाई सम्बोधन गर्न र आपूर्ति सुनिश्चित गर्न सरकारले भारतबाट आउने ग्यासको कोटा बढाउन पहल गरेको छ।
हाल नियमित रूपमा मासिक ४९ हजार पाँच सय मेट्रिक टन ग्यास आपूर्ति भइरहेको छ। आगामी तीन महिनाका लागि यसलाई बढाएर ६० हजार मेट्रिक टन पुर्याउन परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पत्राचार गरिएको सुवेदीले जानकारी दिए।
यसैगरी उपभोक्ताका गुनासा सुन्न निगम र ग्यास उद्योगी सम्मिलित क्विक रेस्पोन्स टिमले हालसम्म तीन हजार चार सयभन्दा बढी गुनासो सम्बोधन गरिसकेको छ।
त्यस्तै मन्त्रालयले बिक्रेताहरूलाई एउटा मात्र सिलिन्डर भएका उपभोक्ता, वृद्धवृद्धा, अशक्त र सुत्केरीलाई प्राथमिकता दिएर ग्यास वितरण गर्न निर्देशन पनि दिइएको छ।








