नेकपाको आन्तरिक किचलोले कर्णालीमा रोकियो तीन मन्त्रीको शपथ
  • प्रमुख खबर

Oplus_131072

भदौ ८, सुर्खेत ।।
कर्णाली प्रदेशमा सोमबार(आज) बिहान ११ बजेका लागी तय गरिएको तीन मन्त्रीको शपथ ग्रहण रोकिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक किचलोका कारण ती मन्त्रीहरूको शपथ रोकिएको हो ।

मन्त्री छनोटमा कुरा नमिलेपछि अन्तिम समयमा शपथ कार्यक्रम नै स्थगित गरिएको हो । मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश प्रमुखको कार्यालयलाई शपथका लागि समय माग गरेका थिए । सोही अनुसार प्रदेश प्रमुखको कार्यालयले ११ बजेको समय तोकेका थियो । तर मुख्यमन्त्री शाहीले मन्त्रीको नाम सिफारिस गर्न सकेनन् ।

उनले मन्त्रीको नाम सिफारिस गर्न नसकेपछि प्रदेश प्रमुखको कार्यालयलाई शपथ कार्यक्रम स्थगन गरिदिन आग्रह गरेको स्रोतले जनाएको छ । सत्ता साझेदार दल नेकपा एमाले र नेकपाबीच भएको सहमतिअनुसार कर्णाली प्रदेशमा नेकपाले पाएका तीन मन्त्रालय अझै रिक्त छन् ।

एमालेबाट एक साता अघि नै तीन मन्त्री नियुक्त भइसके पनि मुख्यमन्त्री शाहीले आफ्नै दलको किचलो मिलाउन सकिरहेका छैनन् । नेकपाले भौतिक पूर्वाधार तथा सहरी विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाएको छ ।

नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त भएको २८ बित्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकिरहेको छैन ।

आज नेकपा सांसद एवम् पूर्व अर्थमन्त्री विन्दमान विष्ट, जुम्कित लामा र मिलन खड्काको नाम मन्त्रीका लागि चर्चामा रहेको थियो । तर साबिक समाजवादी धारले पनि प्रदेशमा आफ्नो भाग खोजेपछि विवाद चुलिएको नेकपाका नेताहरूले बताएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्