कोशीका मुख्यमन्त्री कार्कीले आज तेस्रोपटक विश्वासको मत लिँदै
  • प्रमुख खबर

Oplus_131072

भदौ ८, कोशी ।।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विश्वासको मतको प्रस्तावको पक्षमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मतदान गर्ने निर्णय गरेको छ । कोशी प्रदेश नेकपा संसदीय दलको सोमबार(आज) बसेको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको नेता राजेन्द्र राईले जानकारी दिएका छन् ।

नेकपा एमालेले यसअघि नै विश्वासको मत दिने निर्णय गरिसकेको छ । तर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने विश्वासको मतमा तटस्थ बस्ने भएको छ । यता काङ्ग्रेसले भने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री कार्कीले आज तेस्रो पटक विश्वासको मत लिँदैछन् । एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच भएको तीन बुँदे सहमति अनुसार गएको सोमबार नयाँ मन्त्रीहरूको शपथ ग्रहण भएको थियो । त्यसअगाडि नेपाली कांग्रेसले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

कांग्रेसले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन भदौ ३ गते नै फिर्ता लिएको पत्र संसद् सचिवालयमा दर्ता गरिसकेको छ । गएको साउन ९ गते भएको एमाले र नेकपाबीच प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति भएको थियो ।

संविधानको धारा १६८ (५) अनुसार २०८१ बैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री कार्कीले २०८१ बैशाख ३१ गते पहिलो पटक विश्वासको मत लिएका थिए । त्यसबेला बैठकमा उपस्थित ६२ जना प्रदेशसभा सदस्यमध्ये  ५७ जनाले कार्कीलाई विश्वासको मत दिएका थिए भने ५ जना भने तटस्थ बसेका थिए।

उनलाई एमालेका उपसभामुख सहित ४०, तत्कालीन माओवादीका १३, एकीकृत समाजवादीका ३ र जसपा नेपालका १ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए ।

एमाले र तत्कालीन माओवादीबीचको गठबन्धन टुटेर कांग्रेससँग गठबन्धन गरेपछि दोस्रो पटक मुख्यमन्त्री कार्कीले २०८१ असोज २ गते विश्वासको मत लिएका थिए । त्यसबेला कार्कीले राखेको विश्वासको मतको पक्षमा ६६, विपक्षमा १५ मत परेको थियो । मतदानमा ८३ सांसदले भाग लिएका थिए ।

कोशी प्रदेशसभामा ९२ सदस्य छन् । जसमा एमालेका ४० र कांग्रेसका २९ सदस्य रहेका छन् । यस्तै माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीका १७, राप्रपाको सभामुखसहित ५ र जसपाका १ सांसद छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्