भदौ १४, काठमाडौं ।।
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ७३४ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सो कुराको पुष्टि गरेको हो ।
प्राधिकरणका अनुसार उक्त बाढीमा परी अझै २ हजार ४९८ जना सम्पर्कविहीन रहेका छन् । यसमा सबैभन्दा बढी जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना सम्पर्कविहीन छन् । उनीहरूको खोजी भैरहेको प्राधिकरणले जनाएको छ ।
यस्तै हालसम्म विभिन्न नदी किनारमा ७३४ जनाको शव भेटिएको छ । सबैभन्दा बढी चितवनमा २५९ जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ । यसैगरी रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२ र तनहुँमा ३६ जनाको शव भेटिएका छन् ।
अहिलेसम्म ८ हजार १८६ जनाको उद्धार भएको समेत प्राधिकरणले जनाएको छ । जलविद्युतको सुरुङबाट २७९ जनाको उद्धार गरिएको र खोज तथा उद्धारका लागि १९ हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ ।








