भदौ १५ ,काठमाडौँ।।
त्रिशूली नदीको निरन्तर कटानका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–३ स्थित परेवाटारमा सडक भासिएको छ।
धादिङ प्रहरीले दिएको जानकारीअनुसार आइतबारदेखि त्रिशूली नदीमा आएको बाढीले सडकको बेस (आधारभाग) निरन्तर कटान गर्दै गएपछि सडक भासिएको हो। सडक भासिएसँगै उक्त खण्डमा दुईतर्फी सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
यसअघि पनि त्रिशूली नदीकै बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिँदा यातायात पूर्ण रूपमा ठप्प बनेको थियो। लगातारको बाढी र कटानले पृथ्वी राजमार्गका विभिन्न स्थान जोखिममा पर्दै गएपछि यात्रु र सवारी चालकलाई अत्यावश्यक बाहेक यात्रा नगर्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न सम्बन्धित निकायले आग्रह गरेका छन्।








