भदौ १५, रसुवा।।
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण प्रभावित भएको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी कार्य पूरा भएको नेपाली सेनाले जनाएको छ । उक्त आयोजनामा खोजी गर्दा कोही पनि मानिस फेला नपरेका सेनाले जनाएको हो ।
झन्डै २५० मिटर लम्बाइ रहेको सुरुङमा खोजी टोली २२५ मिटरसम्म भित्र पुगेको थियो । तर सुरुङमा कोही मानिस पनि नभेटिएपछि उद्धार टोली फर्किएको छ । टोलीले सुरुङभित्र ड्रोन प्रयोग गरेर खोजी गरेको थियो ।
सुरुङभित्र कोही पनि मानिस फेला नपरेपछि सेनाको नेतृत्वमा खटिएको उद्धार टोली धुन्चे फर्किएको प्रधानमन्त्रीको सचिवालयले पनि जानकारी गराएको छ ।
अहिलेपनि भोटेकोशी बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धार कार्य भइरहेको छ ।
यस्तै त्रिशूली–३ ‘बी’ को सुरुङमा विज्ञसहितको टोली खटिएर खोजी तथा उद्धार गरिरहेको छ । त्रिशूली–३ ‘ए’ मा गएराति विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ खोल्ने काम गरिएको थियो ।
त्यस्तै विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे जलविद्युत्काे सुरुङभित्र झन्डै १०० मिटर प्रवेश गरी हराइरहेका व्यक्तिको खोजी गरिरहेको छ ।
माथिल्लो त्रिशूली–१ मा पनि उद्धार टाेलीले सुरुङभित्र झन्डै ३०० मिटरसम्म प्रवेश गरी खोजी गरेकाे र त्यहाँबाट एउटा शव सङ्कलन गरिएको छ । यस्तै लाङटाङ आयोजनाको सुरुङमा खोज तथा उद्धार भइरहेको सेनाले जनाएको छ ।








