भाद्र १६, पोखरा ।।
लामाचौर तीज महोत्सव स्थगित गरिएको छ । रसुवा बाढीसँगै मुलुकमा उत्पन्न विषम परिस्थितिका कारण आयोजक नवआदर्श सामुदायिक विकास समाजको सोमबारको बैठकले २८ औं संस्करणको उक्त महोत्सव स्थगित गर्ने निर्णय गरेको हो । साथै, भलिबल प्रतियोगितासमेतका सम्पूर्ण कार्यक्रम स्थगित गरिएकाे संस्थाका अध्यक्ष इ.दिनेश भण्डारीले बताए ।
यस वर्ष ३०औँ वार्षिकोत्सव समारोहअन्तर्गत ३ दिन (२७ -२९ भदौ) सम्म तीज महोत्सव, लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिता, अन्तरमावि छात्रा भलिबल प्रतियोगितालगायत विविध सांस्कृतिक कार्यक्रम गर्ने तयारी गरेको थियो । तर निर्धारित कार्यक्रम स्थगित गरी १ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
अध्यक्ष भण्डारीले विपत्तिमा गरिएको सहयोग रकम ठूलो नभए पनि देशलाई दुःख परेको समयमा पीडित नागरिकप्रति ऐक्यबद्धता र सद्भाव प्रकट गर्ने संस्थाको सानो प्रयास भएको बताए । संस्थाले विविध सामाजिक कार्यक्रमसहित एम्बुलेन्स तथा शववाहन सेवा संचालन गर्दै आएको छ ।








