भदौ १६, एजेन्सी ।।
अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। करिब दुई दशक लामो राष्ट्रिय टोलीको यात्रामा विश्वकपसहित महत्त्वपूर्ण उपाधि जिताएका मेस्सीले अब आफूले दिने सबै कुरा दिइसकेको बताउँदै सन्यासको घोषणा गरेका हुन्।
३९ वर्षीय मेस्सीले हिजो सामाजिक सञ्जालमार्फत सन्न्यासको निर्णय सार्वजनिक गरेका हुन् । उनले आफ्नो निर्णय निकै पीडादायी भएपनि अब समय आएको बताए।
अर्जेन्टिनाको जर्सीका लागि आफूले सधैँ सक्दो प्रयास गरेको र देशलाई खुसी तथा गर्व गर्ने अवसर दिन मैदानमा सबै कुरा दिएको उनको भनाइ पनि छ ।
सन् २००५ मा राष्ट्रिय टोलीबाट फुटबलमा डेब्यु गरेका मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेल खेल्दै १२५ गोल गरेका छन्। उनीअर्जेन्टिनाका सर्वाधिक गोलकर्ता र सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी समते हुन् ।
उनकै कप्तानीमा अर्जेन्टिनाले सन् २०२२ मा कतारमा भएको विश्वकप जितेको थियो ।
त्यस्तै सन् २०२१ र २०२४ कोपा अमेरिका उपाधि पनि अर्जेन्टिनाले मेस्सीको नेतृत्वमा हात पारेको थियो । २०२६ को विश्वकपको फाइनल खेलमा स्पेनलाई जित्न नसकेपनि आफ्नो राष्ट्रलाई फाइनलसम्म पुर्याउन भने उनको योगदान पनि रहेको छ ।
अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका मेस्सी क्लब फुटबलमा भने अमेरिकाको मेजर लिग सकर क्लब इन्टर मायामीबाट खेलिरहेका छन् ।








