भदौ १७,काठमाडौं।।
नागढुंगा–नौबिसे सडकखण्डअन्तर्गत नागढुंगा नजिकैको पातले वन क्षेत्रमा सडक भासिएपछि यातायात सञ्चालन प्रभावित भएको छ। सडक डिभिजन कार्यालय धादिङका अनुसार हाल उक्त सडकखण्डमा सवारीसाधन एकतर्फी रूपमा सञ्चालन गरिएको छ।
सडक डिभिजनका इन्जिनियर अर्जुनप्रसाद अर्यालका अनुसार सडक भासिएपछि अत्यावश्यक मानिएका पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनलाई मात्रै सोही मार्गबाट आवतजावत गर्न दिइएको छ। अन्य सवारीसाधनलाई भने नागढुंगा सुरुङमार्ग प्रयोग गराएर गन्तव्यतर्फ पठाउने तयारी भइरहेको उनले जानकारी दिए।
प्रारम्भिक अनुमानअनुसार सडकको पुरानो र कमजोर रिटेनिङ वाल (सपोर्टिङ वाल) भत्किँदा सडक भासिएको हुन सक्ने देखिएको छ। यद्यपि, वास्तविक कारण भने प्राविधिक टोलीको अध्ययनपछि मात्रै पुष्टि हुने इन्जिनियर अर्यालले बताए।
उनका अनुसार सडक डिभिजनको प्राविधिक टोली घटनास्थलमा पुगेर क्षतिको निरीक्षण तथा थप अध्ययन गरिरहेको छ। सडक मर्मत र यातायातलाई पूर्ण रूपमा सहज बनाउन आवश्यक काम अघि बढाइने पनि विभागले जनाएको छ।








