भदौ १७,नुवाकोट।।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले नुवाकोटको शिक्षा क्षेत्रलाई गम्भीर रूपमा प्रभावित बनाएको छ। विद्यार्थी, शिक्षक तथा अभिभावक अझै प्रभावित अवस्थामा रहेकाले र विद्यालयका भवन, सडक तथा पुलमा व्यापक क्षति पुगेपछि जिल्लाका विभिन्न पालिकाका विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिएको छ।
राष्ट्रिय समाचार समितिका अनुसार बाढीबाट सबैभन्दा बढी प्रभावित विदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालयमा पठनपाठन स्थगित गरिएको छ। यस्तै बेलकोटगढी नगरपालिका र तारकेश्वर गाउँपालिकाले पनि प्रभावित क्षेत्रका शैक्षिक संस्था तत्काल सञ्चालन गर्न नसकिने जनाएको छ।
विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठका अनुसार बाढीका कारण विद्यार्थी, शिक्षक र अभिभावकसमेत प्रभावित भएका छन् भने विद्यालय भवन, सडक र पुलमा ठूलो क्षति पुगेकाले आवतजावतसमेत असहज बनेको छ। उनले दैनिक जनजीवन सामान्य हुँदै नदी वारपार गर्न सुरक्षित अवस्था सिर्जना भएपछि मात्रै विद्यालय सञ्चालन गरिने जानकारी दिए।
विदुर नगरपालिकाका शिक्षा शाखा प्रमुख नवराज सापकोटाले तत्काल विद्यालय सञ्चालन सम्भव नभए पनि अवस्था सामान्य भएपछि वैकल्पिक माध्यमबाट अध्ययन–अध्यापन सञ्चालन गर्ने योजना बनाइने बताए।
प्रारम्भिक तथ्याङ्कअनुसार विदुर नगरपालिकाभित्र रहेका ८३ विद्यालयमध्ये कम्तीमा १२ विद्यालय प्रत्यक्ष रूपमा बाढीबाट प्रभावित भएका छन्। तीमध्ये चार विद्यालयका भवन पूर्ण रूपमा ध्वस्त भएका छन्। शिक्षा विकास तथा समन्वय एकाइ नुवाकोटका अनुसार त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, रामचन्द्र आधारभूत विद्यालय, चेतना आधारभूत विद्यालय र त्रिशूली सामुदायिक बोर्डिङ स्कूलको संरचनामा पूर्ण क्षति पुगेकाले तत्काल सञ्चालन गर्न नसकिने अवस्था रहेको छ।
यसैगरी उत्तरगया इङ्लिश बोर्डिङ स्कूलका तीनवटा ब्लक र छात्रावास भवन पूर्ण रूपमा नष्ट भएका छन् भने एउटा ब्लक मात्र बाँकी रहेको छ। चण्डेश्वरी माध्यमिक विद्यालयको दृष्टिविहीन विद्यार्थी बस्ने छात्रावास, शहीद जगतप्रकाशजङ्ग शाह संस्कृत माध्यमिक विद्यालय तथा पायोनियर इङ्लिश बोर्डिङ स्कूलको परिसरमा पनि क्षति पुगेकाले पठनपाठन सञ्चालनमा कठिनाइ उत्पन्न भएको छ।
बाढीले रामचन्द्र आधारभूत विद्यालयको एउटा र उत्तरगया इङ्लिश बोर्डिङ स्कूलका दुईवटा विद्यालय बससमेत बगाएको छ।
यता, किस्पाङ गाउँपालिकामा विद्यालय भवन सुरक्षित रहे पनि बाढीपीडितलाई अस्थायी आश्रय दिन दुई विद्यालयलाई होल्डिङ सेन्टरका रूपमा प्रयोग गरिएको छ। बेलकोटगढी नगरपालिकामा पनि एक विद्यालयमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ। बेलकोटगढी–७ स्थित शिलादेवी माध्यमिक विद्यालय प्रत्यक्ष रूपमा प्रभावित भएको छ भने वडा नं. ५ को महादेव माध्यमिक विद्यालय पनि बाढीको असरबाट प्रभावित बनेको छ।
त्रिशूली नदीमा आएको बाढीले नुवाकोटको शैक्षिक पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। जनजीवन सामान्य नहुँदासम्म विद्यार्थीहरू विद्यालय फर्कन नसक्ने अवस्था रहेकाले वैकल्पिक शिक्षण व्यवस्था र विद्यालय पुनःस्थापनाको चुनौती स्थानीय तहसामु थपिएको छ।








