भोटेकोशी बाढीले निम्ताएको महाविपत्ति, करिब १६ लाख मानिस प्रभावित
  • प्रमुख खबर

Oplus_131072

भदौ १७, काठमाडौं ।।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट करिब १६ लाख मानिस प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले
बाढीका कारण अहिलेसम्म १ हजार ५० जनाको ज्यान गएको पुष्टि गरेको छ।

प्राधिकरणले हिजो मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखेको छ ।

त्यस्तै धादिङ, गोरखा र चितवनलाई मध्यम प्रभावित जिल्लामा राखिएको छ । यस्तै हालसम्म बाढीका कारण ३ हजार ९१६ जना सम्पर्कविहीन छन् । अहिलेसम्म ११ हजार ९९३ जनाको सकुशल उद्धार भएको प्राधिकरणले जनाएको छ ।  हेलिकोप्टरबाट ४ हजारभन्दा धेरैको उद्धार गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा २१ हजारभन्दा धेरै सुरक्षाकर्मी खटिएको छ । खोज तथा उद्धारमा भारत, चीन र दक्षिण कोरियाका अन्तर्राष्ट्रिय टोली पनि संयुक्त रूपमा परिचालन भएको छ ।

प्राधिकरणका अनुसार विभिन्न स्वास्थ्य संस्थामा २९२ जना घाइतेको उपचार भएकामा १८२ जना डिस्चार्ज भइसकेका छन् । बाढीबाट रसुवा, नुवाकोट र धादिङका १९ विद्यालयमा पढ्ने ६ हजार ९०१ विद्यार्थी प्रभावित भएका छन् ।

त्यस्तै प्राधिकरणका अनुसार बाढीका कारण ८ विद्यालय पूर्ण र ८ आंशिक रूपमा क्षतिग्रस्त छन् भने ३ वटा मात्र सुरक्षित रहेको तथ्याङ्कले देखाएको छ । रसुवाको स्याफ्रुबेंसी स्वास्थ्य चौकी, टिमुरे स्वास्थ्य चौकी, टिमुरे हेल्थ डेस्क रसुवागढी र मैलुङ सामुदायिक स्वास्थ्य एकाइ पूर्ण रूपमा ध्वस्त बनेको प्राधिकरणले जनाएको छ ।

गल्छीको बैरेनी अस्पताल र चरौंदी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आंशिक क्षति पुगेको छ । प्राधिकरणले जारी गरेको प्रतिवेदनमा भोटेकोशी बाढीले ४१ पक्की पुल पूर्ण रूपमा बगाएको र थप ४ पुलमा क्षति पुर्‍याएको उल्लेख छ ।

नुवाकोटमा मात्रै १ हजार २ सय ६७ घर पूर्ण र १ हजार २ सय ५३ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । भोटेकोशी र त्रिशूली करिडोरको बाढी प्रभावित क्षेत्रमा ४ हजार ६ सय ८९ भवन जोखिममा परेको प्रारम्भिक अनुमान छ ।

रसुवाको अति प्रभावित गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाका ३ हजार ७ सय २ घरधुरीका १४ हजार ४ सय ६१ नागरिक प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ । उनीहरू सडक, विद्युत् र सञ्चार सेवाबाट विच्छेद भई अलपत्र अवस्थामा रहेका छन् ।

प्राधिकरणको प्रतिवेदनले रसुवागढी, रसुवा–भोटेकोशी, चिलिमे, लाङटाङ खोला, माथिल्लो त्रिशूली–२, माथिल्लो त्रिशूली–१, मैलुङखोला, माथिल्लो त्रिशूली–३ ए, माथिल्लो त्रिशूली–३ बी, मध्य त्रिशूली गंगा नदी, त्रिशूली, देवीघाट र सुपर त्रिशूलीलगायत जलविद्युत् आयोजनामा क्षति पुगेको देखाएको छ ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्