आज देशभर कुशे औंसी मनाईदै
  • प्रमुख खबर

भाद्र २६, काठमाडौं ।।

हरेक वर्ष भदौ कृष्ण औँसीका दिन मनाइने यस पर्वमा वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउने गरिन्छ । धार्मिक मान्यताअनुसार यसरी विधिपूर्वक घरमा राखिएको कुशले परिवारको कल्याण हुने विश्वास गरिन्छ ।आजका दिन उखेलिएको कुश वर्षभरि देवकार्य र पितृकार्यमा प्रयोग गर्न सकिने तथा अन्य दिन उखेलिएको कुश त्यही दिन मात्र प्रयोग गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ । कुशेऔँसीलाई बाबुको मुख हेर्ने दिन तथा पितृसम्मान दिवसका रूपमा पनि मनाइन्छ ।

यस दिन छोराछोरीले जीवित बाबुलाई आफूलाई मन पर्ने मिठाइ तथा भोजन खुवाएर आदर–सम्मान प्रकट गर्छन् र बाबुको आशीर्वाद लिने चलन छ । बाबु दिवङ्गत भइसकेकाहरूले भने विभिन्न तीर्थस्थलमा पुगेर बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गर्ने र सिदादान गर्ने गर्छन् । यसैबीच, मधेसको प्राचीन मिथिला क्षेत्रमा आज ‘कुशअमबसीया’ पर्व मनाइँदैछ । भदौ औँसीका दिन मनाइने यस पर्वमा मैथिल समुदायले वैदिक मन्त्रोच्चारणसहित धार्मिक विधिबाट कुश सङ्ग्रह गरी घरमा राख्ने परम्परा छ ।

मैथिल परम्परामा आज सङ्ग्रह गरिएको कुशलाई वर्षभरि गरिने पितृकार्य, शुभकार्य तथा विभिन्न धार्मिक कर्मकाण्डमा प्रयोग गरिन्छ । कर्मकाण्डका ज्ञाताहरूका अनुसार कुशबिना हिन्दू परम्पराका अधिकांश धार्मिक कार्य सम्पन्न नहुने मान्यता छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्