सच्चाई केन्द्र नेपाल द्वारा रसुवा–भोटेकोशी बाढीपीडितलाई ५१ लाख १ हजार १ सय सहयोग
  • प्रमुख खबर

भाद्र २७, पोखरा ।।

रसुवा र भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि पोखरामा केन्दिय कार्यलय रहेको ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपालले ५१ लाख १ हजार १ सय रुपैयाँ सहयोग गरेको छ।

बाढीका कारण ठूलो जनधनको क्षति भएपछि सरकारले राहत संकलन तथा वितरणलाई एकद्वार प्रणालीमार्फत अघि बढाउने निर्णय गरेको थियो। सोही अभियानमा सहयोग गर्ने उद्देश्यले ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपालको केन्द्रीय कमिटीको तत्काल बैठक बसेको थियो।

बैठकले संस्थाका विभिन्न शाखा, पदाधिकारी तथा अगुवाहरूबाट राहत रकम संकलन गरी सरकारको राहत कोषमा एकमुष्ट जम्मा गर्ने निर्णय गरेको थियो। निर्णयअनुसार विभिन्न शाखा तथा अगुवा र लिडरहरूबाट रकम संकलन गरी ५१ लाख १ हजार १ सय रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको हो।

यसअघि बाढीपछि तत्काल राहतका लागि सच्चाई केन्द्र नेपालका प्रमुख प्रकाशदीप गैरे र उपप्रमुख सुशीला कट्टेल गैरेको तर्फबाट मात्रै १० लाख रुपैयाँ सहयोग गरिएको थियो।

संकलित रकम संस्थाका प्रमुख प्रकाशदीप गैरे, महासचिव कमल थापा,कोषाध्यक्ष भीम बहादुर गुरुङ,तथा केन्द्रीय सदस्यहरू मनसुबा गुरुङ, विजय घिमिरे, बुद्धिबहादुर परियार, राजु श्रेष्ठ र हिमाल घिमिरेले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेका थिए।

सच्चाई केन्द्र नेपालले यसअघि पनि कोरोना महामारी, भूकम्प, बाढी तथा डुबानलगायतका विपद्का समयमा प्रभावित नागरिकलाई राहत तथा मानवीय सहयोग गर्दै आएको छ।

यसपटक पनि सरकारले अघि सारेको एकद्वार प्रणालीमार्फत राहत प्रभावितसम्म प्रभावकारी रूपमा पुगोस् भन्ने उद्देश्यले संस्थाले संकलित रकम सरकारको राहत कोषमा हस्तान्तरण गरेको हो। संस्थाले विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु आफ्नो सामाजिक दायित्व भएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्