भोटेकोशी बाढीमा ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता: पर्यटन विभाग
  • प्रमुख खबर

Oplus_131072

भदौ ३०, काठमाडौं ।।
रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएको पर्यटन विभागले जनाएको छ। विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका ६०७ विदेशी पर्यटक बेपत्ता भएको विभागका सूचना अधिकारी सुरज घिमिरेले जानकारी दिएका छन्।

बेपत्ता भएका विदेशी पर्यटकमध्ये २६९ पुरुष, ३२९ महिला र नौ लिङ्ग नखुलेका नागरिक छन्। बेपत्ता भएका विदेशी नागरिकमध्ये सबैभन्दा बढी छिमेकी मुलुक भारतका नागरिक रहेका छन् ।

विभागका अनुसार भारतका १८९ नागरिक बेपत्ता भएका छन् । यसबाहेक अष्ट्रेलियाका ३३, बेलारुसका २, क्यानडाका ३०, फिनल्याण्डका एक, फ्रान्स ४, जर्मनी ८, हङ्गेरी एक, आइरिस २, इजरायल १, लिथ्वानियाका १, मलेसियाका ५५, नेदरल्याण्डका २ जना बेपत्ता भएका छन्।

न्यूजरल्याण्डका ५, पोर्चुगलका ३, रसियाका ६, सिङ्गापुरका ९, साउथ अफ्रिकाका ६, स्पेनका २, युक्रेनका ५४, बेलायतका ३२, अमेरिकाका ६५, जापानका ५, फिलिपिन्सका १, काजकिस्तानका ३, बेल्जियमका २, स्वीडेनका १ जना बेपत्ता छन्।

यस्तै विभागले दिएको जानकारी अनुसार लाटभियाका ३३, स्वीजरल्याण्डका एक, इटलीका दुई, चीनका ३७, भियतनाम १, इस्टोनियाका २ र कोरियाका ९ पर्यटक हराएका छन्। त्यस्तै उक्त बाढीमा परेर नेपालका १८८ पर्यटक समेत बेपत्ता भएका छन् । विभागका अनुसार बेपत्ता हुनेमा १६१ पुरुष र २७ महिला छन् ।

विभागका सूचना अधिकारी घिमिरेका अनुसार बेपत्ता हुनेमा विदेशी पर्यटकको सहयोगीका रुपमा गएका र कैलाश मानसरोवर तथा गोसाईकुण्ड घुम्न गएका नेपाली रहेका छन् । सरकारले विपदकाबीच उद्दार कार्य पनि जारी राखेको छ।

हालसम्म ३१० विदेशी पर्यटकको सफल उद्धार गरिएको विभागले जनाएको छ । उद्धार गरिएकामध्ये २५८ पुरुष र ५२ महिला छन्। यसैगरी बाढीपछि सम्पर्कविहीन भएकामध्ये ३ पुरुष, ९ महिला र एक अन्य गरी हालसम्म १३ जना पर्यटक सम्पर्कमा आएका छन्। स्थानीय प्रशासन र सुरक्षा निकायले बेपत्ता भएकाको खोजी र राहत कार्यलाई तीव्रता दिइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्