स्पाइरल ग्यालेक्सी एकेडेमीद्वारा आयोजित प्रथम शिक्षक फुट्सल प्रतियोगिताको उपाधि प्रगति बोर्डिङ स्कुललाई
  • सन्तोष पराजुली

भदौ ३०,पोखरा।।

स्पाइरल ग्यालेक्सी एकेडेमीको आयोजनामा सम्पन्न प्रथम शिक्षक फुट्सल प्रतियोगिताको उपाधि प्रगति बोर्डिङ स्कुलले जितेको छ। फाइनल खेलमा प्रगति बोर्डिङ स्कुलले भ्युपोइन्ट स्कुललाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। प्रतियोगितामा भ्युपोइन्ट स्कुल उपविजेता बन्दा त्रिवेणी पब्लिक स्कुलले तेस्रो स्थान हासिल गरेको छ।

उपाधिसँगै प्रगति बोर्डिङ स्कुलले नगद २२ हजार २२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता भ्युपोइन्ट स्कुलले नगद १५ हजार ५५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र तथा तेस्रो स्थान हासिल गरेको त्रिवेणी पब्लिक स्कुलले नगद ४ हजार ९९९ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

प्रतियोगितामा भ्युपोइन्ट स्कुलका करण घलाल ‘बेस्ट प्लेयर’ घोषित भए। त्यस्तै, प्रगति बोर्डिङ स्कुलका विशाल नेपाली ‘बेस्ट गोलकिपर’, डाइमन्ड सेकेन्डरी स्कुलका सुवास तामाङ ‘हाइएस्ट स्कोरर’ तथा प्रगति बोर्डिङ स्कुलका शंकर केसी ‘बेस्ट कोच’ घोषित भए।

प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यालयलाई मायाको चिनो प्रदान गरिएको थियो। प्रतियोगिता सफल बनाउन सहयोग गर्ने अतिथि, सुरक्षा निकाय, लामाचौर फुट्सल, भायोनेट तथा स्वयंसेवक विद्यार्थीहरूलाई समेत मायाको चिनो प्रदान गरिएको आयोजकले जनाएको छ।

समापन समारोह स्पाइरल ग्यालेक्सी एकेडेमीका संस्थापक प्राचार्य अशोक ओझाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा स्पाइरल ग्यालेक्सी एकेडेमीका संस्थापक निर्देशक अर्जुन चपाई, प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतम, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसी, एनप्याब्सन कास्कीका अध्यक्ष मानकाजी गुरुङ, युनिप्स कास्कीका अध्यक्ष मानकाजी खनाल तथा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङलगायतको विशिष्ट आतिथ्यता रहेको थियो।

त्यस्तै, स्पाइरल ग्यालेक्सी एकेडेमीका जग्गादाता, समाजसेवी तथा प्रथम पुरस्कारका प्रायोजक शिवप्रसाद पराजुली, माधव पराजुली, खगेन्द्र पराजुली र लक्षिमा पराजुलीको समेत विशेष उपस्थिति रहेको थियो। विद्यालयका भाइस प्रिन्सिपल प्रेम तिमल्सिना र कोअर्डिनेटर सुदिप पौडेल पनि विशेष अतिथिका रूपमा कार्यक्रममा उपस्थिति रह्यो।

समापन समारोहमा बोल्दै कार्यक्रमका अध्यक्ष तथा स्पाइरल ग्यालेक्सी एकेडेमीका संस्थापक प्राचार्य अशोक ओझाले विभिन्न विद्यालयको साथ, सहयोग र सहभागिताले प्रतियोगिता सफल भएको बताउँदै आगामी दिनमा पनि यस्ता खेलकुद गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। संस्थापक निर्देशक अर्जुन चपाईले प्रतियोगितालाई भव्य, सभ्य र सफल बनाउन सहयोग गर्ने सम्पूर्ण विद्यालय, अतिथि, सहयोगी संस्था, सुरक्षा निकाय तथा विद्यार्थी स्वयंसेवकप्रति कृतज्ञता व्यक्त गरे। कार्यक्रमको सञ्चालन स्कुलका शिक्षक तुलाराम पौडेलले गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्