असोज ४, काठमाडौं ।।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ । जसअन्तर्गत आज बिहान ११ बजेसम्म रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ गरी एक हजार ४३४ शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।
यस्तै फेला परेका शव पहिचानका लागि डिएनएको नमूना सङ्कलन गरी हालसम्म एक हजार २९२ शव व्यवस्थापन गरिएको समेत प्रहरीले बताएको छ। शव पहिचानका लागि मृतकका एक हजार २८६ र आफन्तका एक हजार ९९७ गरी कुल तीन हजार २८३ वटा डिएनए नमूना सङ्कलन गरिएको छ ।
पहिचान नभएको एक हजार ३६२ शवको विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ। त्यस्तै बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापनलगायतका लागि हालसम्म सात हजार ९७५ प्रहरी परिचालन गरिएको छ । बेपत्ता भएका चार हजार ६५५ जनाको खोजी भइरहेको छ ।








