असोज, ०५ काठमाडौं ।।
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम झन्डै १५ अर्ब रुपैयाँ पुगेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अहिले कोषमा १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ रुपैयाँ मौज्दात रहेको छ ।
सरकारले कोषमा जम्मा भएको रकममध्ये यसअघि नै १ अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ । भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, सिन्धुपाल्चोकलगायतका क्षेत्रमा सडक, पुल, जलविद्युत् आयोजना, होटल तथा अन्य भौतिक संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रको राहत तथा पुनर्स्थापनाका लागि कोषबाट रकम परिचालन गरिएको हो ।
नौ वटा वाणिज्य बैंकमा गरी ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ रुपैयाँ जम्मा छ । त्यस्तै हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा दुई करोड ४४ लाख ७४ हजार १२१ डलर जम्मा भएको कार्यालयले जनाएको छ ।
सरकारले कोषमा प्राप्त रकमलाई आवश्यकता र प्राथमिकताका आधारमा परिचालन गर्ने जनाएको छ ।








