चालकले नै लगाएका हुन् त बसमा आगो? अनुसन्धान गर्दै प्रहरी
  • प्रमुख खबर

असोज ५,काठमाडौँ।।

त्रिपुरेश्वरमा एक सार्वजनिक बसका चालकले बसभित्रै बसेर आगो लगाएका छन्। बा ५ ख ४२७४ नम्बरको बसका २५ वर्षीय चालक दावा लामाले यात्रु नभएको अवस्थामा आफूभित्रै बसेर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

आगो लगत्तै बस ह्वारह्वार्ती जलेपछि घटनास्थलमा पुगेको दमकलले आगो नियन्त्रणमा लिएको थियो। आफ्नै बसमा लगाएको आगोबाट जलेर घाइते भएका चालक लामालाई उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।

चालक लामाले बसमा आगो लगाउनुको कारण भने हालसम्म स्पष्ट हुन सकेको छैन। प्रारम्भिक रूपमा ट्राफिक प्रहरीसँग भएको विवादका कारण उनी आक्रोशित भएर यस्तो कदम चालेको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि, घटनाको वास्तविक कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले घटना भर्खरै भएकाले विस्तृत अनुसन्धान भइरहेको र थप तथ्य अनुसन्धानपछि मात्रै खुल्ने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्